शुक्रबार, जेठ ४, २०८१

नेविसंघ केन्द्रीय समितिमा नबस्ने एलिजा र मुकेशको घोषणा

मेरोन्यूज २०८० साउन ३० गते १३:५३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बनाएको ७११ सदस्यीय नेविसंघको जम्बो केन्द्रीय समितिबाट एलिजा ढकाल र मुकेश घिमिरेले अलग भएको घोषणा गरेका छन्।

Advertisement

लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो आदर्श मानेर अघि बढिरहेको नेविसंघमा केही वर्षयता मातृ पार्टीको अत्यधिक एवम् अनुचित हस्तक्षेपका कारण लोकतन्त्रको अनुभूति गर्न कठिन भएको जनाउँदै उनीहरुले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका हुन्।

मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले मातृ पार्टीको अत्यधिक एवं अनुचित हस्तक्षेपका कारण नेविसंघ भित्र लोकतन्त्रको अनुभूति गर्न कठिन भएको, नेविसंघको तदर्थ समिति गठन गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिएको र महिला सहभागिता एकदमै न्यून भएको जनाएका छन् ।

नेतृत्व विकासको प्रमुख जगको रुपमा रहेको विद्यार्थी संगठनलाई दूषित पारेर पार्टीको सुन्दर भविष्य भेट्न नसिकने उल्लेख गर्दै योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित भएको आरोप उनीहरुले लगाएका छन्।

योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित हुँदै जाँदा विद्यार्थी राजनीति प्रश्नको घेरामा पर्दै प्रतिरक्षाको संघारमा उभिनु परेको उनीहरुले उल्लेख गरेका छन्।

दुवैले औपचारिक रुपमा कुनै अमुक पदमै बसिरहनु पर्छ भन्ने अनिवार्य नहुने बताउँदै नेविसंघको सुन्दर भविष्यको कामना गर्दै समितिमा नरहेको घोषणा गरेका हुन्।

प्रतिक्रिया