शुक्रबार, जेठ ४, २०८१

बालकोटमा ओलीसँग भेटेर सुनिल शर्माले भने- पहिलो चरणमा शेरबहादुर र रोटेशनमा केपी बालाई प्रधानमन्त्री बनाउने हो

मेरोन्यूज २०८० साउन २८ गते १३:१०

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा पुगेर शर्माले ओलीलाई कांग्रेस र एमाले मिलेर सरकार आलोपालो चलाउने प्रस्ताव नै गरेका छन् । माओवादीलाई सरकारबाहिर धकेलिदिनुपर्ने भन्दै उनले अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीलाई ‘आतंकाकारी’ भएको आरोप समेत लगाए ।

Advertisement

नक्कली प्रमाणपत्र छानबिन प्रकरणमा उनी पक्राउ पछि अदालतको आदेशमा रिहा भएका थिए । त्यसबेला आफुलाई पिता सरह एमाले अध्यक्ष ओलीले बचाउ गरेको भन्दै उनले ओली भेटन जाने र ओलीलाई ढोग्ने बताएका थिए । त्यहीक्रममा उनी आज बिहान ओलीको बालकोटस्थित निवासमा पुगेका हुन् ।

ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।

उनले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए । शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।

उनले भने, ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन । कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाई, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’

उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।

उनले भने, ‘चुनावअघि गठबन्धन गर्दा हाम्रो धेरै साथीहरूको राजनीतिक हत्या भयो । हाम्रो पक्ष गठबन्धनको पक्षमा थिएन पार्टीभित्र पनि । अहिले हामी जति प्रचण्डको नेतृत्वमा बस्छौं त्यति कांग्रेस खिइन्छ ।’

उनले गृहमन्त्रीको राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिए । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए ।

प्रतिक्रिया