आइतबार, जेठ ६, २०८१

सुन तस्करी प्रकरण

पटक- पटक पक्राउ परेका थिए दावा र थुप्तेन

दावा यस अगाडी पनि दुई पटक पक्राउ परिसकेका थिए भने थुप्तेनलाई देश निकाला गरिएको तथ्य फेला

शितल शर्मा २०८० साउन २८ गते ११:५४

काठमाडौं । गत साउन २ गते राजस्व अनुसन्धान विभागले पक्राउ गरेको सुन तस्करीको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको छ ।

Advertisement

राजस्व अनुसन्धान विभागले दुई साता लामो अनुसन्धानपछि एक क्विन्टल सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध जोडिएको भन्दै थप अनुसन्धानको जिम्मा प्रहरीलाई लगाएको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यस प्रकरणको जालोको खोजी जारी राखेको छ ।

सीआइबीले अबो एक महिनाभित्र अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ । तर यसको उच्चस्तरीय छानबिनको माग राजनीतिक वृत्तमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको छ । तर सरकारले सीआईबीले अनुसन्धान पूरा गर्ने र त्यसपछि पनि चित्त नबुझे संसदीय समिति बनाउन सकिने बताएको छ ।

यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । त्यसमध्ये एक जना चिनियाँ र दुई चिनियाँ मूलका अन्य देशका नागरिक छन् । उनीहरुसँग सुन तस्करको संयन्त्र जोडिएको देखिएको छ ।

प्रकरणका मुख्य पात्रका रुपमा अहिलेसम्म तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ रहेको देखिएका छन् । उनी १७ वर्षअघि पनि नेपालमा पक्राउ परेको तथ्य फेला परेको छ।

प्रहरी प्रधान कार्यालयको अभिलेखमा दावा २०६३ साल मंसिर २४ गते बौद्धबाट पक्राउ परेका थिए। ०६३ सालमा उनीविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो। प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार उनलाई बौद्धबाट पक्राउ गरी मुद्दा चलाएको अभिलेख फेला परेको हो।
त्यतिबेला तिब्बती चिनियाँ भनेर मुद्दा चलाइएका दावालाई के–कस्तो सजाय भयो भन्ने विस्तृत अभिलेख फेला परेको छैन।

त्यसपछि पनि उनी दोस्रो पटक २०७६ मा पक्राउ परेका थिए । त्यसअगाडी नै उनले २०७४ मा नेपाली नागरिकता र राहदानी किर्ते कागजात पेश गरेर लिएको पनि खुलेको छ । तर त्यसमा उनलाई कारवाही गरिएको थिएन ।

उनी २०७६ मा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चिनियाँ नागरिकलाई ठगी गरेको आरोपमा पक्राउ परेका थिए । त्यसवेला उनीसहित १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। उनीहरुलाई पक्राउ गर्न नेपालस्थित चिनियाँ दूतावासले सूचना दिएको थियो।
तर लामो समयदेखि नेपालमै रहेका दावाले अन्य चिनियाँ अपराधीहरुलाई पनि सहयोग गर्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्।

साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरेको करिब सय किलो सुन प्रकरणमा दावाको पनि संलग्नता देखिएपछि उनलाई ठमेलको होटल भियनाबाट पक्राउ गरिएको छ ।

अहिले उनीमाथी अनुसन्धान जारी छ । उनको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दिपेश पुन, माओवादी नेता वर्षमान पुन र पत्नी ओनसरी घर्ती लगायतसँग राजनीतिक सम्वन्ध पनि देखिएको छ ।

यधपी उनीहरले दावाले रोल्पाकी अमलासँग विवाह गरेको र त्यही कारण मात्र भेटघाट भएको प्रष्टिकरण माओवादी नेताहरुको छ ।

अर्काेतिर यही प्रकरणमा पक्राउ परेका थुप्तेन छिरिङ पनि यस अगाडी पक्राउ परेर नेपालको अध्यागमनले ५ वर्षका लागि देश निकाला गरेका ब्यक्तिसम्म रहेको खुलेको छ । उनी यस अगाडी खाँग तस्करीको आरोपमा पक्राउ परेका थिए ।

चिनियाँ मूलका छिरिङ २०६७ साल पुस १९ गते गैंडाको खाग तस्करीको आरोपमा पक्राउ परेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जले चलाएको मुद्दामा थुप्तेनलाई १० वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो । उनलाई २०७१ साल चैत १६ गते केन्द्रीय कारागारमा ल्याइएको थियो।

थुप्तेनको स्वभाव सहज नदेखिएपछि २०७२ असोज १९ मा उनलाई नख्खु कारागार सरुवा गरिएको थियो । थुप्तेनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले उनको कैद सजाय ७ वर्षमा झारेपछि २०७४ साल वैशाख १९ गते रिहा भए ।

त्यसपछि अध्यागमन कार्यालयले उनलाई पाँच वर्षको प्रतिबन्ध लगाएर देश निकाला गरेको थियो । तर नेपाली भाषामासमेतमा दख्खल रहेका थुप्तेनको अहिले सुन तस्करीको मुख्य आरोपितका रुपमा नाम जोडिएको छ ।

थुप्तेन र दावा दुवै यस अगाडी पनि नेपालमा अपराधिक क्रियाकलापमा पक्राउ परेका र अहिले सुन तस्करी प्रकरणमा सँगै जोडिएपछि यी दुईका नेक्ससका बारेमा प्रहरीले अहिले अनुसन्धान जारी राखेको छ ।

थुप्तेन छिरिङ (चिनियाँ मूलका भारतीय नागरिक)


– २०६७ साल पुस १९ पक्राउ
(गैंडाको खाग तस्करीको आरोप)
– १० वर्ष कैद र १ लाख जरिवाना
– २०७१ साल चैत १६ गते केन्द्रीय कारागार सरुवा

– २०७२ असोज १९ मा नख्खु कारागार सरुवा
– सर्वोच्चमा पुनरावेदन, कैद सजाय ७ वर्षमा झार्ने फैसला
– २०७४ साल वैशाख १९ गते रिहा
– अध्यागमन कार्यालयले पाँच वर्ष प्रतिबन्ध लगाएर देश निकाला
– सय क्विन्टल सुन प्रकरणमा फेरि पक्राउ

दावा छिरिङ (तिब्बती मूलका बेल्जियन नागरिक)

– २०६३ साल मंसिर २४ गते बौद्धबाट पक्राउ
(तिब्बती चिनियाँ भनेर मुद्दा चलाइएको रेकर्ड)
– सार्वजनिक अपराधमा मुद्दा
– – २०७४ पुस २० गते निमा तामाङका नाममा किर्ते गरी नेपाली नागरिकता र माघमा राहदानी लिएको रेकर्ड
– २०७६ सालमा फेरि पक्राउ
(अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर ठगी गरेको आरोप) तर केही समयमै रिहा
– २०८० साउन ठमेलको होटल भियनाबाट तेस्रो पटक पक्राउ
(सय क्विन्टल सुन प्रकरणमा आरोपित)

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया