शुक्रबार, जेठ ४, २०८१

माओवादीका दुई मन्त्री झिक्ने प्रधानमन्त्रीको तयारी

झिकिने दुई मन्त्रीको ठाँउमध्ये एउटामा जनमतकी अनितादेवी र अर्काेमा पार्टीकै अर्का नेतालाई सहभागी गराइने

मेरोन्यूज २०८० साउन २७ गते २२:१०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कार्यसम्पादन सम्झौता गरेको दुई दिनमै माओवादी केन्द्रका दुई मन्त्रीको पद धरापमा परेको छ । जनमतलाई सरकारमा सहभागी गराउन र पार्टीभित्रकै अर्का एक नेतालाई अबसर दिनका लागि प्रधानमन्त्रीले अहिले क्याबिनेटमा रहेका पार्टीका दुई मन्त्रीलाई झिक्ने तयारी गरेका हुन् ।

Advertisement

यसरी झिकिनेमा संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पर्ने सम्भावना छ । बालुवाटार स्रोतले सुरुमा यी दुईमध्ये एक मन्त्रीलाई झिकेर जनमतकी अनितादेवी साहलाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए ।

तर एउटा मात्रै मन्त्रीलाई बाहिर निकाल्दा सन्देश पार्टीभित्र नराम्रो जान सक्ने र प्रत्यक्ष निर्वाचित सांसदको राजनीतिक करियरमा समेत दख्खल पर्नसक्ने देखेपछि प्रधानमन्त्री दुई जना मन्त्री झिकेर एउटामा जनमत र अर्काेमा पार्टीबाटै अर्का नेता हितबहादुर तामाङलाई भित्राउने तयारीमा प्रधानमन्त्री अगाडी बढेको बालुवाटार स्रोतले जनाएको छ ।

यधपी यसबारेमा प्रधानमन्त्रीले अन्तिम निर्णय भने लिईसकेका छैनन । उनी चितवनमा छन् । शुक्रवार नै गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्री आइतबार दिउँसोमात्रै काठमाडौं फर्किने र त्यसलगत्तै मन्त्रीमा केही हेरफेर गर्ने तयारी गरेका छन् ।

जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह भने मन्त्रीमा फिक्स छिन् । उनको पाटीृले उनको नाम एक महिना अगाडी नै प्रधानमन्त्रीलाई बुझाईसकेको छ ।

संविधानतः सरकारमा २५ जना मात्र सहभागी हुन पाउने ब्यवस्था छ । अहिले नै सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीसहित गरेर २५ जना मन्त्रिपरिषद्मा छन् । जनमतकी अनिता सरकारमा सहभागी हुनका लागि अहिले सरकारमा रहेका एक मन्त्रीले आफनो पद त्याग्नुपर्ने हुन्छ । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो।

माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन्।

जनमत पार्टीले २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई आफनो पार्टीका तर्फबाट सरकारमा सहभागी हुन अनितादेवी साहको नाम बुझाएको थियो। तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन्।

त्यसयता प्रधानमन्त्री पत्नी शोक, इटाली भ्रमण, विकसित थप राजनीतिक घटनाक्रम लगायतका कारण जनमतको सरकार प्रवेशमा ढिलाई भईरहेको थियो । तर अब प्रधानमन्त्रीले ढिलो नगरी आइतबार मन्त्रीमण्डल हेरफेर गर्न लागेका हुन् । त्यसका लागि तयारी पूरा गर्न प्रधानमन्त्रीले सचिवालयलाई अह्राएर चितवन पुगेका छन् ।

जनमत सरकारमा आउने भएपछि माओवादीका दुई मध्ये एक मन्त्रीलाई बिदाई गर्दाको अप्ठ्यारो हेरेर प्रधानमन्त्रीले दुई मनत्रीलाई बाहिर झिक्ने र पार्टीका अर्का नेता हितवबहादुरलाई भित्राउने योजना बनाएको स्रोतको दावी छ ।

त्यसो भएमा संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती दुवैको पद धरापमा पर्नेछ ।

मोदी र किराती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै सन्तुष्ट छैनन्। मोदीमाथी कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ । कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो पनि छ ।

किरातीले पनि काम भन्दा हल्ला बढी गरेको निष्कर्षमा बालुवाटार छ ।

प्रतिक्रिया