आइतबार, जेठ ६, २०८१

जनमतकी अनितादेवी मन्त्री बन्दा ‘डेन्जर जोन’ मा कुन मन्त्री ?

माओवादीबाट मन्त्री बनेका अमनलाल मोदी र सुदन किराँतीमध्ये एक मन्त्री डेन्जर जोनमा

मेरोन्यूज २०८० साउन २७ गते १४:५७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कार्यसम्पादन सम्झौता गरेको दुई दिनमै एक मन्त्रीको पद धरापमा पर्ने भएको छ । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि बिहिबारमात्रै प्रधानमन्त्री प्रचण्डसँग कार्यसम्पादन सम्झौता गरेका दुईमध्ये एक मन्त्रीको भने पद धरापमा पर्न लागेको हो ।

Advertisement

सम्भवतः भोलि ती मन्त्रीको पद जानेछ । उनको साटो जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह मन्त्री बन्नेछिन् । शुक्रवारबाट नै गृहजिल्ला चितवनमा रहेका प्रधानमन्त्रीले भोलि आइतबार काठमाडौं फर्केलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । त्यसक्रममा एक मन्त्रीको पद जाने र अर्काे एक मन्त्रीको पद भने हेरफेर हुनसक्ने सम्भावना रहेको प्रधानमन्त्री सचिवालय निकट स्रोतले बताएको छ ।

संविधानतः सरकारमा २५ जना मात्र सहभागी हुन पाउने ब्यवस्था छ । अहिले नै सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीसहित गरेर २५ जना मन्त्रिपरिषद्मा छन् । जनमतकी अनिता सरकारमा सहभागी हुनका लागि अहिले सरकारमा रहेका एक मन्त्रीले आफनो पद त्याग्नुपर्ने हुन्छ ।

त्यसो हुँदा माओवादीबाट मन्त्री बनेका एक मन्त्रीको पद धरापमा पर्ने भएको हो । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो।

माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन्।

जनमत पार्टीले २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई आफनो पार्टीका तर्फबाट सरकारमा सहभागी हुन अनितादेवी साहको नाम बुझाएको थियो। तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन्।

त्यसयता प्रधानमन्त्री पत्नी शोक, इटाली भ्रमण, विकसित थप राजनीतिक घटनाक्रम लगायतका कारण जनमतको सरकार प्रवेशमा ढिलाई भईरहेको थियो । तर अब प्रधानमन्त्रीले ढिलो नगरी आइतबार मन्त्रीमण्डल हेरफेर गर्न लागेका हुन् । त्यसका लागि तयारी पूरा गर्न प्रधानमन्त्रीले सचिवालयलाई अह्राएर चितवन पुगेका छन् ।

जनमत सरकारमा आउने भएपछि माओवादीका दुई मध्ये एक मन्त्रीलाई बिदाई गर्ने तयारीमा प्रधानमन्त्री छन्। संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

मोदी र किराती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै सन्तुष्ट छैनन्। मोदीमाथी कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ । कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो पनि छ ।

किरातीले पनि काम भन्दा हल्ला बढी गरेको निष्कर्षमा बालुवाटार छ । जसकाकारण यी दुईमध्ये प्रधानमन्त्रीले एकलाई हटाउने तयारीमा रहेका छन् ।

प्रतिक्रिया