मंगलबार, जेठ १, २०८१

झुटो विवरण पेस गरेर बंशजका आधारमा लिएका दुई नागरिकता सरकारद्वारा खारेज

नागरिकता बनाउने अग्रवाल र भण्डारीलाई कारबाही गरिने

मेरोन्यूज २०८० साउन २४ गते १८:१४

काठमाडौँ । सरकारले झुटो विवरण पेस गरेर लिएका दुई नागरिकता खारेज गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेश गरि नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरि नेपाली नागरिकबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Advertisement

अग्रवाल र भण्डारीलाई कारबाही गर्ने निर्णय पनि सरकारले गरेको गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

अग्रवालले जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७७ साल ७ महिना २५ गते बंशजको आधारमा नागरिकता लिएकी थिइन् ।

भण्डारीले जिल्ला प्रशासन कार्यालय कास्कीबाट ०७९ ४ महिना २६ गते बंशजको आधारमा नागरिकता लिएकी थिइन् ।

त्यस्तै बैठकले उपराष्ट्रपति रामसहाय प्रसादको चीन भ्रमण स्वीकृत गरेको छ । चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी शर्माले दिइन्।

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवशयक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले भदौ १९ र २० गते स्वीडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिननेशचन्द्र थपलियालाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताइन्।

प्रतिक्रिया