आइतबार, वैशाख १६, २०८१

फन्दामा फसेका लालबहादुरलाई रिहा गर्न आदेश

मेरोन्यूज २०८० साउन १६ गते २०:११

काठमाडौँ । साहुको फन्दामा फसेका मजदुर सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका गोपाल भन्ने लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ।

मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्माले पूर्ण सफाइ दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी निधीराम दाहालले जानकारी दिए।

लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो भने जाहेरवालाले समेत लालबहादुरलाई साहुले फसाएको र उनी निर्दोष रहेको बयान दिएका थिए।

त्यसविरुद्ध लालबहादुरले उच्च अदालतमा अपिल गरेका थिए ।

सुन पसलका काम गर्ने सामान्य मजदुर लालबहादुर फैसलापछि सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका छन्। अदालतले तोकेको ३ करोड बढी बिगो तिर्न सक्ने अवस्था लालबहादुरको छैन।

लालबहादुरले सुनसरीको इटहरी उपमहानगरपालिका २० का दीपक गजमेरको परिवारले सञ्चालन गर्ने सिंहदेवी ज्वेलर्समा काम गर्थे । दीपकका बुवा कृष्णबहादुर विक, दिदी सीता गजमेर, भाइ कमल गजमेरसँग ज्वेलर्समा उनी सुनका गहना बनाउँथे।

दीपकका परिवारका ५ जनासँगै लालबहादुरविरुद्ध करोडौँ ठगीको आरोपमा २०७५ जेठ २० गते इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी परको थियो ।

प्रतिक्रिया