आइतबार, जेठ ६, २०८१

कोशीमा कांग्रेसले एमालेको सहयोगमा सरकार बनाउला ?

कांग्रेसका प्रमुख सचेतक भन्छन् : ‌‌औपचारिक प्रस्ताव आए छलफल हुन्छ

मेरोन्यूज २०८० साउन १२ गते १७:३६

काठमाडौँ । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै एमालेले नीतिगत रुपमै नेपाली कांग्रेससँग सम्बन्ध स्थापित गर्न खोजेको बताएका छन् । कार्कीले त्यतिमात्रै भनेनन्, कांग्रेस तयार भए सत्ताको नेतृत्व दिन समेत आफूहरु तयार भएको बताए ।

Advertisement

यसले एमाले कांग्रेससँग मिलेर कोशीमा सरकार बनाउन चाहेको देखाउँछ । कोशीमा कांग्रेससँग सरकार मिलेर सरकार बनाएपछि केन्द्रदेखि अन्य प्रदेशमा भएको कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहितका दलको गठबन्धनमा दरार आउने आकलन एमालेको छ ।

कोशीमा एमाले संसदीय दलका नेताले नै कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव राखेपछि अन्य दलहरूले औपचारिक प्रतिक्रिया नदिए पनि झस्किएका भने छन् ।

गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा २२ दिनमै सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाबाट पदमुक्त भएका थिए । त्यसको भोलिपल्ट एमालेले सत्तामा सहकार्य गर्ने प्रस्ताव ल्याएको हो ।

कांग्रेसले भने औपचारिक प्रस्ताव आएपछि मात्र त्यसबारे छलफलबारे सोच्न सकिने बताएको छ ।
कांग्रेसको कोशी प्रदेश सभाका प्रमुख सचेतक भुपेन्द्र राईले आधिकारिक प्रस्ताव आए छलफल हुनसक्ने बताए । ‘आधिकारिक प्रस्ताव आए छलफल हुनसक्छ। अहिले त्यसबारे कुनै छलफल भएको छैन,’ राईले भने ।

कोशीमा गठबन्धन दलको बहुमत नपुगेपछि २१ असारमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर कांग्रेस दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । सभामुखले हस्ताक्षर गर्न नमिल्ने भन्दै सर्वोच्चले बिहीबार थापाको नियुक्ति बदर गरिदियो ।

९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धन कसैसँग पनि बहुमत छैन । सत्ता गठबन्धनमा कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धनमा ४६ सांसद छन्। एमाले र राप्रपाको विपक्षी गठबन्धनमा पनि ४६ नै नै सांसद संख्या छ । सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। त्यही भएर कि कांग्रेस र एमाले वा कि एमाले र माओवादी मिल्न पर्ने अवस्था देखिन्छ ।

गठबन्धनले राप्रपाको साथ पनि बहुमत पुग्छ। तर राप्रपा पनि गठबन्धनमा जान इच्छुक देखिएको छैन । यही अवस्थामा एमालेले माओवादी भन्दा कांग्रेसको साथ चाहेको कार्कीले बोलेका छन् ।

कोशीमा ४० सांसद रहेको एमाले सबैभन्दा ठूलो दल हो। २९ सांसद रहेको कांग्रेस दोस्रो ठूलो दल हो।

प्रतिक्रिया