बिहीबार, जेठ ३, २०८१

नवलपरासीमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

मेरोन्यूज २०८० साउन १० गते १४:४७

नवलपरासी । नवलपरासीको (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको जानकारी दिए ।

उनीहरुले गत शुक्रबार स्थानीय जंगलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ । जंगली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन् ।

बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

स्थानीय नेत्रबहादुर सारुले भने, ‘उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो । लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मंगलबार राति घरमा मृत्यु भएको हो ।’

बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको स्थानीय सारुले बताए । गत वर्ष पनि जंगलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जंगलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताए ।

प्रतिक्रिया