आइतबार, जेठ ६, २०८१

पार्टी कमिटीको आकार घटाउने यस्तो छ एमालेको तयारी

६ वर्ष अगाडीकै पार्टी संरचनामा फर्कदै एमाले, मध्य असोजसम्म प्रदेश अधिवेशन सक्ने

शित्तल शर्मा २०८० साउन ९ गते ९:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टीको प्रदेश कमिटीको अधिवेशनको तयारीमा जुटेको छ । मध्य असोजसम्म भूगोलका ७ र गैह भूगोलका १ गरी ८ वटै प्रदेश कमिटीको अधिवेशन गर्ने गरि नेकपा एमालेले संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ ।

Advertisement


साउन १५ भित्रै प्रदेशको सदस्यताको अन्तिम टुग्गो लगाउने गरि एमाले अगाडी बढेको छ । त्यसका लागि उसले यस अगाडी दुई पटक सम्म सदस्यता नविकरणको कार्यतालिका संशोधन गदै साउन १५ लाई अन्तिम डेटलाइन तय गरेको छ । अपेक्षित सदस्यता नविकरण नभएपछि उसले कार्यतालिका संशोधन गदैं साउन १५ सम्मको डेटलाइन तय गरेको हो ।

प्रदेश अधिवेशनबाट एमालेले पार्टीको जम्बो कमिटीको आकार घटाउने निर्णय पनि लिएको छ । संगठन विभागका तर्फबाट सचिवालय बैठकमा पेश गरेको प्रस्ताव अनुमोदन भईसकेको छ । सोही आधारमा अहिलेका जम्बो कमिटीका आकार घटने छ ।

एमालेको अहिले भूगोलका ७ र एक गौह भौगोलिक प्रदेश कमिटिमा गरी कुलमा २,८७४ जना प्रदेश कमिटीमा आवद्द छन् । तर अव प्रदेश कमिटीका अधिवेशनप्रश्चात ८ ओटै प्रदेशबाट कुलमा १,१७९ चुनिन्छन् । त्यसो हुँदा अहिले आवद्द रहेका १,६९५ जना प्रदेश कमिटीका नेताहरु अहिले रहेको कमिटीबाट बाहिरिनेछन् ।


उनीहरुलाई जिल्ला, पालिका क्षेत्रहरुको कार्यकारी जिम्मामा लैजाने तयारी एमालेको छ । एमालेले मध्य असोजसम्म प्रदेश कमिटीका अधिवेशन गर्ने गरि गण्डकी प्रदेशमा बाहेक अन्यत्रको मिति तय गरिसकेको छ । गण्डकीमा भने प्रदेश कमिटीको बैठक नै एमालेले राख्न सकिरहेको छैन । त्यहाँ उपमहासचिव रहेका पृथ्वीसुब्बा गुरुङ र एमाले संगठन विभाग प्रमुख रहेका खगराज अधिकारीका बीचमा चलेको द्दन्द्दका कारण बैठक प्रभावित भईरहेको एमाले स्रोतको भनाई छ । यधपी, गण्डकीलाई पनि केन्द्रीय सचिवालयले भदौं मसान्तसम्म अधिवेशन गर्ने गरि मिति तोक्न निर्देशन गरेको छ ।

अधिवेशन : कुन प्रदेशमा कहिले ?

गण्डकी बाहेकका प्रदेश कमिटीले अधिवेशनको मिति तय गरेको छ । जसअनुसार,
कोशी : असोज ११ र १२
मधेस : असोज ५ र ६
बागमती : असोज ८ र ९
गण्डकी : भदौं मसान्तभित्र (तोकिन बाँकी)
लुम्बिनी : भदौं १६ र १७
कर्णाली : भदौं २९ र ३०
सुदुरपश्चिम : भदौं २१ र २२
उपत्यका विशेष : असोज ११ र १२

सय सदस्य बराबर एक प्रतिनिधि
एमालेले प्रदेश अधिवेशनको मिती तय गरेसागै प्रतिनिधिहरुको सहभागिता कसरी गर्ने भन्ने विधि पनि बनाएको छ । एमाले नेताहरुका अनुसार, प्रदेश हरुलाई सय सदस्य बराबर एक प्रतिनिधि हुने गरि अधिवेशनको प्रतिनिधि तय गर्न निर्देशन गरिएको छ । कर्णाली लगायत क्षेत्रहरुमा भने प्रतिनिधिको मापदण्डमा केही फेरबदल हुने एमाले स्रोतले जनाएको छ ।

उसले एक सय संगठित सदस्य बराबर एक अधिवेशन प्रतिनिधि र त्यसभित्र पनि ३३ प्रतिशत महिला अनिवार्य गर्न निर्देशन गरेको छ । अधिवेशनका लागि उत्पीडित समुदाय र मजदुरलाई भने कोटा नै तोकेर अधिवेशनमा प्रतिनिधित्व गराउन एमालेले भनेको छ ।

कुन कमिटी अब कत्रो ?
एमालेले माओवादी केन्द्रसँग असफल भएको एकताका क्रममा २०७५ पछि बनाएको प्रदेश कमिटीकै संरचना अनुसार अहिलेसम्म संगठन चलाईरहेको छ । त्यसो गर्दा पार्टीका कमिटीहरु जम्बो बनेको र संगठन चुस्त दुरुस्त हुन नसकेको निश्कर्ष निकालेको छ । त्यही आधारमा उसले अबको प्रदेश अधिवेशनबाट माओवादीसँगको एकतापूर्वको अवस्थामै पार्टीका संरचना लाई फर्काउने निर्णयमा एमाले पुगेको छ ।

एमाले कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार, अब एमालेका पार्टी संरचनाहरु चुस्त दुरुस्त हुने गरि कमिटीको आकार सानो हुनेछ । त्यसक्रममा प्रदेश अधिवेशनबाट कम्तीमा ६० प्रतिशत सम्मको कमिटिको आकार घटाउने गरी एमालेले तयारी गरेको उनको भनाई छ ।


प्रदेश कमिटीकै आकार घटने भएपछि अहिले प्रदेश कमिटीमा रहेका १,६९५ जना प्रदेश कमिटीका नेताहरु अहिले रहेको कमिटीबाट बाहिरिनेछन् ।

प्रतिक्रिया