आइतबार, जेठ ६, २०८१

बुधबार बरामद सुन अघिल्लो शुक्रबार नै आइपुगेको थियो त्रिभुवन विमानस्थलमा

मेरोन्यूज २०८० साउन ५ गते ७:०६

काठमाडौँ । बुधबार काठमाडौँको सिनामंगलमा बरामद गरिएको सुन शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको खुलेको छ । सुन जुलाई १४ तारेक (शुक्रबार) राति १० बजे काठमाडौं आइपुगेको देखिएको राजश्व अनुसन्धान विभागले अध्ययनका क्रममा फेला परेको छ ।

Advertisement

जुलाई १३ तारेक (बिहीबार) हङकङस्थित क्याथे प्यासिफिकको कार्गो विभागमा सुनका कार्टुन काठमाडौं पुर्‍याउने गरी बुक गरिएको थियो र शुक्रबार क्याथे प्यासिफिकको उडानबाट काठमाडौँ ल्याइपु¥याइएको पाइएको हो ।

शुक्रबार विमानस्थलमा आइपुगेको सुन चार दिनसम्म गोदाममा राखेर सबै सेटिङ मिलाएपछि मात्र बाहिर मंगलबार बाहिर निकालिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘सुनले भरिएका ६ कार्टुन चार दिनसम्म भन्सारको गोदाममा राखिएको थियो, सबै सेटिङ निश्चित गरेपछि मंगलबार अपराह्न सवा ४ बजे मात्र बाहिर निकालिएको अनुसन्धानमा देखिएको छ,’ अनुसन्धानमा संलग्न राजश्व विभागका एक अधिकृतले भने ।

हङकङबाट इलेक्ट्रोनिक आइटम (लाइट) भनेर सुन नेपाल पठाउन बुक गरिएको र नेपालको भन्सारबाट भने स्कुटरको ब्रेक सु भनेर जाँचपास गरिएको देखिएको छ । ४ दिन भन्सारमा राखेर भन्सारबाट निर्बाध छुटाउने निश्चित भएपछि मात्र मंगलबार बाहिर निकालिएको स्रोत बताउँछ ।

सुन नेपालमा भित्रिएपछि व्यवस्थापन गरी गन्तव्यसम्म लैजान कसले जिम्मा लिएको थियो भन्ने अझै पत्ता नलागेको र अनुसन्धानकै क्रममा रहेको राजश्व विभाग स्रोत बताउँछ ।

बूढानीलकण्ठस्थित रेडी ट्रेडर्स प्रालिले स्कुटरको ‘ब्रेक सु’ का नाममा भन्सारबाट निकालिएको सामान राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर खानतलास गर्दा करिब सय किलो सुन भेटिएको हो ।

सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको देखिएको छ । तस्करीमा संलग्न भएको आरोपमा एक–एक जना भारतीय र चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

राजस्व अनुसन्धान विभागले लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङ र ३६ वर्षीय चिनियाँ नागरिक जेक्युयाङ लिनलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया