सोमबार, जेठ ७, २०८१

दैलेखमा छोरी बलात्कार गर्ने बाबुलाई तेत्तीस वर्ष कैद

मेरोन्यूज २०८० असार २६ गते ६:५२

दैलेख । दैलेख जिल्ला अदालतले आज १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बाबुलाई ३३ वर्ष कैद सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले त्यस्तो फैसला गरेको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।

Advertisement

गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तार गरिएको थियो । बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

फैसलमा तीन लाख जरिवाना, ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र दुई हजार आठ सय पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

दैलेखमा चैतदेखि जेठसम्मको अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चारवटा मुद्दा प्रहरीमार्फत अदालत पुगेका छन् । सोमबार भएको सजाय निर्धारण पेसीमा पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए । सरकारवादी मुद्दाहरूमा जिल्ला सरकारी वकिल कार्यालयले कसुरदारलाई अधिकतम सजायको मागदाबीसहित अदालतमा अभियोग दर्ता गराउने र पीडितका तर्फबाट निःशुल्क बहस पैरवी गर्ने गर्दछ ।

प्रतिक्रिया