मंगलबार, जेठ १, २०८१

आज अधिवक्ताहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने

मेरोन्यूज २०८० असार १८ गते ६:५३

काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।

Advertisement

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले प्रेस विज्ञप्ति जारी गरेर असार १८ गते दशैभरिका अदालतहरूमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने जनाएका हुन् ।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले यस्तो घोषणा गरेको हो ।

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग गरेको छ ।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया