सोमबार, जेठ ७, २०८१

एसईईको नतिजा शनिबारसम्म सार्वजनिक गरिने

मेरोन्यूज २०८० असार १७ गते १३:५२

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबारसम्म नतिजा प्रकाशित गर्ने तयारी भइरहेको जनाएको छ ।

Advertisement

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सहभागी थिए । ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र रहेका छन् । कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यार्थीका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसईईमा सहभागी थिए ।

७७ वटै जिल्लामा ७७ हजार ९ सय ९२ जना जनशक्ति परिचालन गरेर परीक्षा लिइएको श्रेष्ठले जनाए । परीक्षा सकिएपछि जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गरिएको थियो । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक फरक थिए । विद्यार्थीले आफूले पढेभन्दा फरक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया