शनिबार, जेठ ५, २०८१

सरकार एनआरएनहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ : उप्रधानमन्त्री खड्का

मेरोन्यूज २०८० असार १४ गते ८:४२

मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

Advertisement

खड्काले ओमानको राजधानी मस्कटमा बुधबार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैर आवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे । उपप्रधानमन्त्री खड्काले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने बताए ।

उनले सरकारले एनआरएनका विषयलाई गम्भीरतापूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए । संविधानले परिकल्पना गरे अनुसार नागरिकता ऐन आएको भन्दै छिट्टै नियमावलीको काम सक्ने गरि काम सुरु भएको जानकारी खड्काले दिए । सरकार र सिंगो संसद एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले प्रष्ट पारे ।

विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए ।

उपप्रधानमन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन समेत गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन समेत उनले आग्रह गरे ।

सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार ३० जून, २०२३० सम्पन्न हुनेछ ।

प्रतिक्रिया