मंगलबार, जेठ १, २०८१

सत्ता समिकरण फेरबदलको प्रयास सुरु

कांग्रेस र एमालेका नेताहरू अनौपचारिक छलफलमा

मेरोन्यूज २०८० असार ७ गते ७:२६

काठमाडौँ । सत्ता समिकरण फेरबदलको प्रयास सुरु भएको छ । वर्तमान गठबन्धनलाई छोडेर नयाँ सत्ता समिकरण बनाउन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरूले प्रयास सुरु गरेका छन् ।

Advertisement

आफूहरूले दिएको साथ एक महिनामै छोडेर कांग्रेसलाई अंगालेको भन्दै असन्तुष्ट नेकपा एमालेले पनि समिकरण बदल्न कांग्रेसलाई साथ दिने संकेत देखाएको छ ।

नयाँ सत्ता समीकरण बनाउन कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू निरन्तर अनौपचारिक संवादमा रहेका निकटस्थ स्रोतहरू बताउँछन् । साना दलको समीकरणले राजनीतिक समिकरणले अस्थिरता हुने भन्दै एमालेले दुई ठूला दलको सहभागितामा सरकार बनाउन प्रस्ताव राखेपछि कांग्रेसका नेताहरू त्यो प्रस्तावमा सकारात्मक रहेका बताइन्छ ।

स्रोतका अनुसार अहिले कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा, संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेतासँग एमालेका नेताहरू सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल संवादमा छन् ।

निकटस्थ स्रोतले अमेरिकामा रहेका एमाले महासचिव शंकर पोखरेलले सिंगापुरमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विभिन्न च्यानलमार्फत छलफल गरिरहेको जानकारी दियो ।

देउवा स्वास्थ्य परीक्षणका लागि ३० जेठमा सिंगापुर गएका छन् । उनी बुधबार (हिजो)बिहान ११ बजे स्वदेश फर्कने कार्यक्रम थियो । स्रोतले पोखरेलसँग च्यानलमार्फत कुरा गर्नै स्वदेश फर्कने समय देउवाले अचानक परिवर्तन गरेको बतायो । देउवाले त्यो बाहेक अन्य केही महत्त्वपूर्ण राजनीतिक भेटघाट पनि गरेको बताइन्छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमालेबाहेकका वाम शक्तिलाई एकत्रित गराई असार ४ मा समाजवादी मोर्चा गठन गरेको नयाँ समिकरण बनेमा बार्गेनिङ पावर बढाउन भएको एक नेताले बताए । दाहालको यो घटनाक्रमले कांग्रेस र माओवादी आपसमा संशकित भएको बुझ्न सकिन्छ ।

एमालेले कांग्रेसलाई नै सरकारको नेतृत्व लिन भनिरहेको छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएकाले कांग्रेस भएकाले उसको नेतृत्वमा सरकारमा जान एमालेलाई गाह्रो नहुने एमाले नेताहरूले सार्वजनिक रूपमा बताउने गरेका छन् ।

दुई दल मिल्दा साना दलहरूलाई मोलमोलाइको अवसर नहुने र सरकारले प्रभावकारी काम गर्न सक्ने धारणा वार्तामा रहेका दुवै दलका नेताहरू बताउँछन् ।

नयाँ समिकरणका लागि कांग्रेसले भन्दा एमालेले बढी पहल कदमी लिइरहेको नेताहरू बताउँछन् । कांग्रेसको संस्थापन पक्षका नेताहरूसँग मात्रै कुरा गर्दा समीकरण भरपर्दो नहुने ठानेर एमाले नेताहरूले कांग्रेसको संस्थापन इतरका नेता डा. कोइराला, महामन्त्री थापासँग पनि छलफल गरिरहेका छन् ।
महामन्त्री थापाले निकटस्थहरूसँग नयाँ समिकरण बन्न सक्ने सम्भावना रहेको बताउने गरेका छन् । ‘अनौपचारिक कुराकानी भइरहेको छ, नयाँ समिकरण बन्ने सम्भावना छ,’ थापाको भनाइ उध्रीत गर्दै उनीनिकट एक नेताले भने ।

भुटानी शरणार्थी प्रकरणलगायतमा सरकारको नेतृत्व गरेको दलबाटै कांग्रेसलाई बदनाम बनाउने काम भइरहेको भन्दै माओवादीसँग सभापति देउवा असन्तुष्ट छन् । नक्कली शरणार्थी प्रकरणमा सरकारले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई छानबिन दायरामा तानेपछि देउवा दाहालसँग असन्तुष्ट बनेका स्रोतहरू बताउँछन् ।

कांग्रेस नेताहरूले देउवालाई चुनावी वर्षमा सरकारको नेतृत्व लिँदा प्रभावकारी काम देखाउन नपाइने तर्क गर्दै एमालेसँग मिलेर सरकारको नेतृत्व गर्न सुझाइरहेका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १ सय ३८ भए बहुमत पुग्छ । कांग्रेस र एमाले मिलेमा यो संख्या अन्य कुनै दलको समर्थन र सहभागिता बिना पुग्छ ।

प्रतिक्रिया