शनिबार, जेठ ५, २०८१

अध्यक्ष तिमिल्सिना चीन भ्रमणबाट आज स्वदेश फर्कने

मेरोन्यूज २०८० असार ६ गते ६:१७

काठमाडौँ । चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्कदै छन् । नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पूरा गरि स्वदेश फर्कन लागेका हुन् ।

Advertisement

अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत आज बिहान ९.२५ बजे पोखरा बिमानस्थलमा आईपुग्ने कार्यक्रम छ । पोखरा विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडानका यात्रुका रुपमा आईपुग्ने अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डल र उडानमा सवार यात्रुुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा विमानस्थलमा स्वागत गर्नेछन् ।

चार्टड गरिएको विमानमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आउँदैछन् । पोखराको फेवातालमा असार ८ र ९ गते (३–२४ जुन २०२३) मा फेस्टिभल हुँदैछ ।

चीनको सहुलीयतपुर्ण ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलायन्सले पहिलो उडान गर्न लागेको छ । अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भएको भेटवार्ताका क्रममा सिधा उडानको विषय उठान भएपछि चीनले उडानको तयारी थालेको हो ।

अध्यक्ष तिमिल्सिनाले काठमाण्डौँसहित पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए ।

अध्यक्ष तिमिल्सनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ संग भेटवार्ता गरेका थिए । तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका थिए ।

सबै भेटमा नाकामा सहजीकरण, सिधा उडान, भौतिक पुर्वाधार निर्माण सहित द्विपक्षीय सहयोग र सहकार्यका बिभिन्न पक्षमा छलफल भएका थिए ।

यसैगरी अध्यक्ष तिमिल्सिनाले तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र मानसरोवर लगायतका स्थलहरुको अवलोकन भ्रमण गरेका छन् ।

चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदीप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।

प्रतिक्रिया