मंगलबार, जेठ १, २०८१

सशंकित बनेका प्रचण्डले बनाए मोर्चा, कसको स्वार्थ के ?

सरकारमा रहेका दलहरूबीच मोर्चा बनेसँगै कांग्रेसको शंका, चिढियो एमाले !

मेरोन्यूज २०८० असार ४ गते १७:२६

काठमाडौं । गत मंसिरको चुनावी परिणामलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदभित्र तेस्रो धार निर्माण गर्ने घोषणा गरेका थिए । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका पार्टीसँगै सहकार्य गरेर चुनावमा भाग लिएको माओवादीले आफ्नो शक्ति चुनावपछि संसदमा निर्णायक हुने अनुमान लगाएको थियो ।

Advertisement

तर, चुनावी तालमेलले पनि माओवादी केन्द्र उकासिन सकेन । अर्थात २०७४ मा एमालेसँग तालमेल गरेर चुनावमा जाँदाको अवस्थाभन्दा मा‌ओवादी खुम्चियो । चुनावमा माओवादीले जम्मा ३२ सिटमा विजयी हात पार्‍यो । तुलनात्मक रुपमा संसदमा माओवादी खुम्चिँदा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउतको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले आ-आफ्नो भूमिका बनाउन सफल भयो । यी दलहरू पुराना दलप्रति जनतामा देखिएको असन्तुष्टिको लाभ लिँदै उदाउने मौका पाए ।

जसले संसद जुनकुनै बेला मध्यावधिमा जान सक्ने, निर्णायक तेस्रो पोजिसन आफ्नो नहुने देखेपछि प्रचण्डले त्यही बेलादेखि संसदमा तेस्रो धार जन्माउने घोषणा गरेका थिए । प्रचण्डको रणनीति थियो– माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका पार्टीहरूबीच समाजवादी मोर्चा बनाउने ।

कांग्रेस र एमाले आफूसँग नमिल्ने हो भने यी दुई ठूला दललाई तीन दल (माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी) बिना सरकारको नेतृत्व लिन नसक्ने अवस्था निम्ताउन समाजवादी मोर्चाको स्वैर कल्पना प्रचण्डले बनाएका थिए । त्यसपछि संसदभित्र निर्णायक बनिरहन प्रचण्डले समाजवादी मोर्चाको जालो फ्याँकेका थिए ।

संसदभित्र प्रचण्डले हिसाब निकालेका थिए– निर्णायक बनिरहने ।

उनी त्यही निर्णायक बनेर तेस्रो शक्ति हुँदा पनि अहिले सरकारको नेतृत्व गरिरहेका छन् । सुरुमा कांग्रेसले प्रधानमन्त्री नदिँदा एमालेको बल सत्ता सम्हाल्न पुगे, प्रचण्ड । पछि कांग्रेसले समेत साथ दिएपछि एमाले छाडेर कांग्रेससँगकै सहकार्यमा प्रचण्ड अहिले प्रधानमन्त्री छन् । प्रधानमन्त्री बनिरहँदा प्रचण्ड विश्वस्त हुन सकिरहेका छैनन् ।

कांग्रेसभित्र माओवादीलाई प्रधानमन्त्री छाडेको गुनासो, संसदमा छिन्नभिन्न दलहरूको सांसदहरूको संख्या, सत्ताबाट बाहिर बसेर छट्पटाइरहेको एमालेको चलखेलका कारण प्रचण्ड आफूलाई विश्वासिलो वातावरणमा सुरक्षित महसुस गर्न सकेका छैनन् । यस्तो बेला संसदमा एकीकृत समाजवादी र जनता समाजवादीको साथ लिन सके कांग्रेस र एमाले मिलेको अवस्थाबाहेक अन्य अवस्थामा आफूहरूले जे चाह्यो त्यही पोजिसन बनाउन सक्ने बुझाइमा छन्, प्रचण्ड ।

त्यसपछि सुरु भयो- मोर्चा निर्माणको गृहकार्य । यो मोर्चा प्रचण्डका लागि मात्र आवश्यक थिएन । जनता समाजवादी र एकीकृत समाजवादीका पनि आफ्नै स्वार्थ रहेकाले उनीहरूका लागि पनि आवश्यक बन्न पुग्यो । त्यसपछि उनले संसदभित्र हिसाबकिताब गर्न थाले । माओवादीको ३२ सिट, एकीकृत समाजवादीको १० सिट, जनता समाजवादीको १२ सिट जोड्दा संसदमा ५२ सिट हुन्छ ।

अझ, सुरुमा प्रचण्डले यो मोर्चामा रेशम चौधरीको नागरिक उन्मुक्ति, सिके राउतको जनमत, प्रभु साहको आम जनता पार्टी र स्वतन्त्र सांसदलाई समेत आफ्नो हिसाबमा जोड्न चाहेका थिए । तर, नागरिक उन्मुक्ति र जनमतले अलग्गै मोर्चा निर्माण गरेपछि प्रचण्ड तीन दलको मोर्चा निर्माण गर्ने कसरतमा जुटेका हुन् ।

त्यो योजनमा प्रचण्ड सफल भएको मान्छन् वाम विश्लेषक तथा पूर्व माओवादी नेतासमेत हेमराज भण्डारी । ‘प्रधानमन्त्री प्रचण्डलाई संसदभित्र आफू निर्णायक रहिरहन मोर्चा आवश्यक थियो, त्यसमा उहाँ सफल हुनु भएको छ,’ भण्डारीले मेरोन्यूजसँग भने ।

मोर्चामा आबद्ध हुन लागेका संसदभित्रका तीन र संसदबाहिरका एक दल सबैका आ-आफ्ना स्वार्थ छन् । विश्लेषकहरूका अनुसार यी चारै दलका स्वार्थ मोर्चाबाट पूरा हुने देखिएपछि उनीहरू एक ठाउँमा उभिने निर्णयमा पुगेका हुन् ।

मोर्चाभित्र क-कसका के स्वार्थ ?

नेकपा (माओवादी केन्द्र)

नेकपा (माओवादी केन्द्र)का अध्यक्षा तथा प्रधानमन्त्री प्रचण्ड संसदमा ५४ सिटका साथ निर्णायक शक्तिमा देखिरहन चाहन्छन् । संसदको अंक गणितमा अन्य दलले चलेखल नगरोस् र ५४ सिट मजबुत एक ठाउँमा रहिरहोस् भन्नका लागि उनले मोर्चा आवश्यक ठानेका थिए । यो नै प्रचण्डको सबैभन्दा मुखर स्वार्थ छ ।

यही स्वार्थमा उनी मोर्चा बनाउन सफल भएका छन् । कांग्रेस र एमालेलाई संसदभित्र मिलेर सरकार चलाउन नदिने र यी दुई ठूला दलले आफूहरूबाहेक सरकार निर्माणमा अरू दललाई लिन नसकोस् भन्ने प्रचण्डको स्वार्थ छ । त्यसका लागि निर्णायक तेस्रो शक्ति संसदमा बन्ने योजनामा देखिन्छन्, उनी ।

यसो हुँदा कांग्रेससँग ८९ (एक निलम्बितसहित), एमालेसँग ७९ (दुई निलम्बितसहित) र ५४ समाजवादी मोर्चाको हुने हुँदा निर्णायक मोर्चा बन्न सकिने बुझाइमा प्रधानमन्त्री छन् । अहिलेको सत्ता गठबन्धनमा विश्वासको बलियो वातावरण नदेख्नु पनि उनी मोर्चा निर्माणमा जुट्नुभित्रको अर्काे कारण देखिन्छ ।

एमाले अध्यक्ष केपी ओलीले अहिलको सत्ता गठबन्धन भत्काउन कांग्रेसलाई सरकारको नेतृत्व दिन सक्ने भन्दै बेला-बेलामा दिने अभिव्यक्ति र कांग्रेसभित्र दुई धुव्र कांग्रेस र एमाले मिलाएर एमालेले सरकारको नेतृत्व दिन्छ भने कम्मर कस्नु पर्ने भनी आउन थालेको अभिव्यक्तिले प्रचण्ड शसंकित छन् । त्यसैले उनले सत्ताको पेरिफेरीमा घुमिरहन मोर्चा आवश्यक देखेका हुन् ।

एकीकृत समाजवादी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अब एक्लै आफू मात्रै हिँडेर कही नपुग्ने लागिसकेको छ । उनको पार्टीले गत चुनावमा राष्ट्रिय पार्टीसमेत नसकेको अवस्थाबाट एक्लै हिँड्न सकिन्न भन्ने उनले बुझेका छन् । यसैबीच एमालेले एकाध नेता छाडेर अन्य नेता कार्यकर्तालाई पार्टीमा समाहित गर्ने र भित्र्याउने अभियान थालेपछि कार्यकर्ता रोक्नु माधवका लागि चुनौति बनेको थियो ।

एमालेमा फर्किन् थालेका नेता कार्यकर्ता रोक्ने र एमालेभन्दा अलिक मेहनत गर्दा समाजवादी मोर्चा नै निर्णायक कम्युनिष्ट केन्द्र बन्ने बुझाइ र विश्वास नेता कार्यकर्तामा पैदा गराउन माधवलाई मोर्चा आवश्यक थियो ।

मूलतः कार्यकर्ता टिकाउने र एक्लै गएर कही पुगिन्न, एमालेले मुख्य नेतालाई बाल दिन्न भन्ने बुझाइमा एकीकृत समाजवादीका नेता कार्यकर्ता रहेकाले यो मोर्चा उसलाई पनि आवश्यक बन्न पुगेको थियो । कार्यकर्ता टिकाउने सवालमा एकीकृत समाजवादीकै जस्तो चिन्ता माओवादीमा समेत देखिएको छ ।

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफूलाई मात्रै स्थापित दलको रुपमा ठानेको थियो । तर, गत मंसिरको चुनावले जसपा अध्यक्ष उपेन्द्र यादवको त्यस्तो विश्वासमा तुसारापात लाग्न पुग्यो । उनी आफै उपचुनावमा पनि मुस्किलले जितेर संसद छिर्नु पर्ने बाध्यता मधेसमा निम्तेको थियो ।

क्षेत्रीय दलका रुपमा सिके राउतको जनमत पार्टी र पश्चिमतिर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जन्मेपछि जसपालाई पनि अस्तित्व रक्षाकै संकट देखिएको थियो । कम्तीमा माओवादी, एकीकृत समाजवादीको आँड भरोसामा फेरि टिकिरहन सकिन्छ कि भन्ने स्वार्थमा उपेन्द्रलाई मोर्चा चाहिएको विश्लेषण राजनीतिक वृतमा छ ।

नेपाल कम्युनिष्ट पार्टी

संसदीय राजनीतिमा नरहेको र एकीकृत जनक्रान्ति गर्ने उद्घोष गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि समाजवादी मोर्चामा अटाउन आइपुगेको छ । यो मोर्चामा विप्लवको पार्टीको सहभागितालाई धेरैले अब विप्लवको पार्टी क्रान्ति र आन्दोलनबाट थाकेको अर्थमा बुझेका छन् । विप्लवले नयाँ धार जन्माउन नसकेको, समय परिस्थिती उनले चाहे जस्तो अनुकूल नबनेको र स्वयम् उनीमाथि एउटा कालखण्डमा जस्तो चाम नरहेको अवस्था छ ।

त्यसपछि उनले मोर्चामार्फत संगठन मजबुत पार्ने, संसदीय राजनीतिमा अवतरणका लागि सुरक्षित बाटो खोज्ने उपाय मोर्चामार्फत गरेको विश्लेषण छ । अझ माओवादीभित्र प्रचण्डपछिको नेतृत्वमा देखा परिरहेको नेतृत्व संकटमा आफ्नो प्रवेशले त्यसभित्र आफ्नो उपस्थिती बलियो बनाउन सक्ने विप्लवले बुझेका हुन सक्छन् ।

त्यसमा प्रचण्डले पनि उनलाई सके मोर्चामार्फत नभए माओवादीसँग मात्र एकता गराएर पार्टीको महासचिव जस्तो पद दिन सकिने विश्वास अन्तर्यमा दिलाएका हुन सक्छन् । यसका लागि कृष्णबहादुर महरा सुरुदेखि जुटेका छन् । त्यसैले विप्लव मोर्चामा आएको बुझाइ राजनीतिक वृतमा छ ।

तर, मोर्चामा आवद्ध दलका नेताहरूका आ-आफ्ना जे-जस्ता स्वार्थ रहे पनि पार्टीहरु धुव्रीकृत हुने एकताबद्ध भएर जान खोज्ने कुरालाई सकारात्मक रुपमा बुझनु पर्ने विश्लेषक हेमराज भण्डारीको तर्क छ । तर अहिले निर्माण हुनै लागेको समाजवादी मोर्चाको सैद्धान्तिक आधार बलियो भएर बनेको उनले नदेखेको बताए ।

‘प्राविधिक छलफलका आधारमा मात्र मोर्चाको गृहकार्य र घोषणा तयारी भएको देखिन्छ । के का लागि मोर्चा ? भन्ने प्रश्न उठेको छ,’ भण्डारी भन्छन्, ‘जवाफमा नेताहरुले जनतालाई चित्त बुझ्दो जवाफ दिन सकेका छैनन, मात्र सरकारको बार्गेनिङका लागि मात्र हो भने मोर्चाको खास अर्थ हुँदैन ।’’

विश्लेषकहरूका भनाइमा मोर्चा निर्माणभित्र तीन वटा कारण हुन सक्छन्

पहिलो , सत्ता गठन्धनभित्रको बलियो विश्वासको वातावरण नहुनु

समाजवादी मोर्चामा आबद्ध दलबाटै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले प्रधानमन्त्री छन् । तर उनले गठबन्धनभित्र बलियो विश्वासको वातावरण बनेको महसुस गरिरहेका छैनन् । जुनकुनै बेला कांग्रेसले लेप्ट-राइट गर्न सक्ने र त्यसका लागि एमालेले मलजल गर्न सक्ने बुझाइमा प्रचण्ड छन् ।

त्यस अर्थमा पनि उनी मोर्चा बनाएर आफूलाई सकेसम्म सुरक्षित बनाइराख्न चाहान्छन् । कांग्रेसको गतिविधिले प्रचण्ड र प्रचण्डको कदमले कांग्रेस एक अर्काप्रति शसंकति देखिएका छन् । यसले पनि गठबनधनमा बलियो विश्वासको वातावरण बनेको छैन । विश्वासको वातावरण नबन्दा आफूलाई सुरक्षित बनाइराख्न र कांग्रेसमाथि दबाब बढाइराख्न पनि मोर्चा निर्माणमा प्रधानमन्त्री कम्मर कसेर लागेको बुझाइ राजनीतिक वृतमा छ ।

दोस्रो जुनसुकै बेला मध्यावधिमा जान सक्ने र त्यसका लागि पूर्व तयारीमा रहिरहनु पर्ने

संसदका अंक गणित यस्तो छ की, यसले सरकार निर्माणमा चलखेल निम्ताइरहने र जुनकुनै बेला मध्यावधिमा जानु पर्ने अवस्था आउन सक्ने आशंका र भय मोर्चामा आवद्ध हुन लागेका तीनै दललाई छ । कांग्रेससहितको पाँच दलीय मोर्चा बनाएर चुनावमा जाँदा गठबन्धन जनताले नरुचाएको, कांग्रेस र एमालेका तर्फबाट अबको चुनावमा कोही कसैसँग गठबन्धन नगर्ने सार्वजनिक घोषणा आदिका कारण उनीहरुमा अवको चुनावको भय पनि छ ।

यदि, कथंकदाचित पाँच वर्ष संसद नटिकेर मध्यावधिमा जाने वातावरण निम्तेमा आफूहरुको पोजिसन अहिलेको भन्दा झन् खराब हुने उनीहरुको विश्लेषण छ । त्यस्तो बेला सम्भावित संकट टार्न संसदमा रहेका तीन दलले अहिलेदेखि समाजवादी मोर्चाको कसरत गरेर अगाडि बढ्न चाहेका हुन् ।

तेस्रो अस्तित्व रक्षा

पुराना दलहरूको साटो संसदमा रवि लामिछाने लगायतका नयाँ दलहरू संसदमा देखा पर्नु, जनतमा पुराना दलहरुको अस्तित्वमाथि प्रश्न उठ्नुले यी दलहरूले आफ्नो अतिस्वका बारेमा चिन्ता देखाएका छन् । कतै मोर्चा नबनाउने र अलग-अलग भान्छा सानो-सानो रुपमा चलाइरहने हो भने यसले फेरि पार्टीको अस्तित्वमा सकंट आउने भयका कारण पनि मोर्चामा यी दलहरु आइपुगेको बुझाइ राजनीतिक विश्लेषकहरुको देखिन्छ ।

कांग्रेस-एमालेको आशंका

सरकारमै रहेको कांग्रेसबाहेकका मुख्य तीन दलका बीचको मोर्चाले कांग्रेस र एमाले दुवैलाई झस्काएको छ । कांग्रेसले मोर्चा बनाएर सरकारमा आफूमाथि दबाब बढाउन खोजेको बुझेको छ । सरकारमा बसेर सरकारभित्रैका दलहरूको समाजवादी मोर्चा उसले अहिले आवश्यक नरहेको बताइरहेको छ ।

सरकारको नेतृत्व आलोपालोमा समझदारी बनाएको कांग्रेसले समाजवादी मोर्चा बनाएर आफूहरूमाथि दबाब बढाउन खोजेको बुझेको छ । एमालेले भने आफूसँग मुकाबला गर्ने र कांग्रेसलाई तर्साउने रणनीतिमा मोर्चाको कुरा आएको बताएको छ ।

‘कांग्रेसलाई समाजवादी मोर्चा बनाऊँ त ? भनेर तर्साउनका लागि मात्रै गठन हुने मोर्चा बनाएर के हुन्छ,‘ केपी ओलीले यसबारे सार्वजनिक मञ्चमै टिप्पणी गरेका थिए, ‘त्यो बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हुन सँगै हिँडेका छन् । लिभिङ टुगेदर त चलेकै छ, तिनीहरूको । अनि मोर्चा के चाहियो ? हामीले उहाँहरूका मोर्चा सोर्चा के बनाउँछन् खास वास्ता राख्नु पर्ने छैन ।’

प्रतिक्रिया