मंगलबार, जेठ १, २०८१

कांग्रेसमा श्रीमानलाई कारबाही, श्रीमतिलाई महिला संघको केन्द्रीय सदस्य

निधिले बनाए जेठीसासु र भाञ्जीलाई संघको केन्द्रीय सदस्य

मेरोन्यूज २०८० जेठ ३२ गते ७:१०

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसमा अचम्मको राजनीति देखिएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार राति भ्रातृ संस्था नेपाल महिला संघको तदर्थ समितिलाई विस्तार गर्दा पार्टीले गत निर्वाचनमा पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेदवार भएका पर्साका अजयकुमार द्विवेदीकी श्रीमतिलाई केन्द्रीय सदस्य बनाएका छन् ।

Advertisement

उनकी श्रीमति शुष्मा तिवारीलाई ५२ सदस्यीय समिति विस्तार गर्दा ५० औँ नम्बरमा केन्द्रीय सदस्य बनाएका छन् । द्विवेदी गत प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेसले पर्सा–१ निर्वाचन क्षेत्र जनता समाजवादी पार्टीलाई छोडिदिएपछि बागी उठेका थिए ।

त्यहाँ जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले निर्वाचन जित्दा द्विवेदी निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यादवले २२ हजार ५ सय ३७ मत ल्याउँदा द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका थिए । त्यसपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । तर, उनी कारबाही गरिएका नेताकी श्रीमति तिवारीलाई देउवाले महिला संघको केन्द्रीय सदस्य बनाएका छन् । द्विवेदी कांग्रेस पर्साका पूर्वसभापति पनि हुन् ।

यता कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पनि आफ्ना दुई आफन्तलाई संघको केन्द्रीय समितिमा घुसाउन सफल भएका छन् । निधिले जेठीसासु र भाञ्जीलाई केन्द्रीय समितिमा घुसाउन सफल भएका हुन् ।

निधिकी जेठीसासु दिपशिखा शर्मा ढकाल र भाञ्जी निनु कर्ण महिला संघको केन्द्रीय समितिमा अटाएका हुन् । सिन्धुलीकी ढकालको सूचीको १७ नम्बरमा र महोत्तरीकी कर्णको १८ औँ नम्बरमा नाम छ ।

ढकाल पूर्वसांसद पनि भएकाले धेरैले आलोचना गरेका छैनन् तर कर्ण भने जुनियर भएकाले धेरैको आलोचनाको पात्र बनेकी छन् ।

प्रतिक्रिया