मंगलबार, जेठ १, २०८१

कांग्रेसमा शेखर कोइराला: सभापति देउवासँग कि महामन्त्री थापासँग नजिक ?

मेरोन्यूज २०८० जेठ २८ गते ८:४९



काठमाडौं । नेपाली कांग्रेसमा स्थायी रूपमा रहने गुटगत राजनीतिमा ट्वीस्ट हुने संकेतहरू देखापरेका छन् । पार्टीको १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धी भएर निर्वाचित र निकटतम प्रतिस्पर्धी भएका नेताहरू एकै गुटमा हुने सम्भावना देखिएको छ ।

Advertisement

१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुँदा डा. शेखर कोइराला निकटतम् प्रतिस्पर्धी भएका थिए । डा. कोइरालाले २०७८ मंसिरमा महाधिवेशन सम्पन्न भएपछि लामो समयसम्म पार्टी कुनै पनि निर्णयमा एक ठाउँमा बसेर छलफल गरेका थिएनन् । जुनसुकै निर्णय असन्तुष्टि जनाउँदै आएका छन् । तर, पछिल्लो समय सभापति देउवा र नेता डा. कोइरालाबीच सम्बन्ध सुधार भएको घटनाक्रमले देखाउँदै लगेका छन् ।

डा. कोइरालाले सभापति देउवाबाट पार्टी र देश चल्न नसक्ने भन्दै नेतृत्व फेर्नुपर्ने एजेन्डा लिएर संस्थापनइतर समूहलाई सशक्त बनाइरहेका थिए । तर, उनको त्यो एजेण्डा र रफ्तार पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसका तर्फबाट मन्त्री सिफारिस गर्दाबाट कोइराला र सभापति देउवाबीचको सम्बन्धमा सुधार आएको नेताहरू बताउँछन् ।

दाहाल नेतृत्वको सरकारमा मन्त्रिपरिषद्मा देउवाले कोइराला समूहबाट महामन्त्री जितेका गगन थापासहितका पदाधिकारीलाई बेवास्ता गर्दै कोइरालाले एकल रूपमा पठाएका मन्त्रीलाई पठाएपछि सम्बन्धमा सुधार आएको निकटस्थ स्रोतले बतायो ।

यो घटनाले १४ औं महाधिवेशनमा आफ्नै पयानलमा महामन्त्रीको उम्मेदवार बनेर जितेका गगन थापा र उनी निकटका नेताहरू भने कोइरालासँग चिडिएका छन् । सरकारमा पठाउने मन्त्रीका विषयमा आफूहरूसँग कुनै छलफल नगरिएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा पटक–पटक सार्वजनिक रूपमै विरोध गरेका थिए ।

तर, नेता कोइरालाको सिफारिसलाई सतप्रतिशत कार्यान्वयन गरी सभापति देउवाले इतर समूहलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । कांग्रेसबाट सरकारमा जाने ९ मन्त्रीमध्ये २ जना इतर समूहका बनाउँदा पनि दुई महामन्त्री थापा र शर्मालाई वास्तै नगरी देउवाले डा. कोइरालाले सिफारिस गरेका धनराज गुरुङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाए ।

जबकी महामन्त्रीद्वयले बद्री पाण्डे र जीवन परियारलाई युवाको नेतृत्व गर्दै मन्त्री बनाउनु पर्ने अडान लिएका थिए । उनीहरूको त्यो कुरा न सभापति देउवाले सुन, न त आफ्नै समूहका नेता डा. कोइरालाले ।

त्यसपछि महामन्त्री थापा कोइरालासँग रुष्ट बनेका थिए । आफ्नै टिममा समेत पर्याप्त छलफल नगरी कोइरालाले सभापतिको निर्णयलाई स्वीकार गरेको महामन्त्री थापाले आरोप लगाइरहेका छन् । कांग्रेसको कोटामा थप गरिएको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट सुरेन्द्रराज आचार्यलाई सरकारमा पठाएपछि समेत कोइरालाले आचार्य आफ्नै टिमको भएको भन्दै संस्थापन इतरसमूहका नेताहरूलाई चित्त बुझाउन लगाएपछि थापा झन चिडिएका छन् ।

डा. कोइराला र सभापति देउवा शनिबार भक्तपुर कांग्रेसले आयोजना गरेको कार्यक्रममा संगै रहेर भाषण गरे । दुई नेताहरूबीच वर्षौंपछिको एउटै स्टेज कार्यक्रमले पनि देउवा–कोइराला सम्बन्धमा सुधार आएको नेताहरू बताउँछन् । कार्यक्रममा दुवै नेताहरूले पार्टीमा सबै एक भएर गुटरहित भएर जानुपर्ने बताए ।

कोइरालाले कांग्रेसमा गुट भएको तर उक्त गुटबन्दीले पार्टीलाई सखाप पार्ने भएकाले विस्तारै गुटरहित कांग्रेस बनाउनुपर्ने बताए ।

सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लाने प्रतिबद्धता जनाए । ‘अहिले पार्टी बलियो बनाउन पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर जानुपर्ने छ’, देउवाले भने, ‘योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई पार्टीले उचित जिवम्मेवारी समेत दिएर जाने कुरामा म प्रतिबद्ध छु । प्रजातन्त्र बलियो बनाउन पार्टी नै बलियो हुनुपर्छ ।’

देउवाले कोइरालालाई विस्तारै आफ्नो पक्षमा ल्याउने कसरतमा लागेका छन् । देउवाले गत स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलगायतका दलहरूसँग तालमेल गरेर चुनावमा जाने निर्णयविरुद्ध कोइरालाले प्रतिवाद गरेका थिए । कोइराला संसदीय दलको निर्वाचनमा आफू उम्मेदवार बनेनन् ।

देउवाविरुद्ध आफूपछि हटेर महामन्त्री थापालाई दलको नेताको उम्मेदवार कोइरालाले बनाएका थिए । कोइरालाको पछिल्लो भूमिका सभापतिसँग मिलेर जाने जस्तै देखिएको उनी निकटका नेताहरू बताउँछन् । कुनै बेला आमनेसामने भएर हरेक निर्णयको प्रतिवाद गर्ने कोइराला सभापति देउवाप्रति लचक हुनुको कारण देउवा स्वयंले आफ्नो उत्तराधिकारी बनाउन सक्ने आश्वाशन दिएको हुन सक्ने निकटस्थहरू बताउँछन् ।

यद्यपि, यस विषयमा कसैले मुख भने खोलीसकेका छैनन् । पार्टीको १५औं महाधिवेशनमा संस्थापन पक्षबाट बलियो उम्मेदवार नदेखिएकाले कोइरालालाई नै सभापतिले उम्मेदवारको प्रस्ताव राख्न सक्ने निकटस्थहरू बताउँछन् ।

कांग्रेसको विधानअनुसार एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्थाअनुसार आगामी १५औं महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार बन्न पाउँदैनन् ।

देउवाले आफ्नो टिमबाट सभापतिका लागि अघि सार्ने सशक्त उम्मेदवार को भन्ने अहिले नै निक्यौल गर्न सकेका छैनन् ।

नेता कोइराला पनि देउवा पछि हुने सभापतिको उपयुक्त पात्र खालिजस्तै दखेपछि देउवासँगको सम्बन्ध सुधारतिर लागेका छन् । तर, कोइरालाले आफू देउवा समूहमा गएको स्वीकार भने गरिसकेका छैनन् ।

इतर समूहका नेताहरू अहिले महामन्त्री थापा र नेता कोइरालाबीच सम्बन्ध पूरै बिग्रिएको नभए पनि आवश्यक छलफल हुन नसकेको बताउँछन् । ‘डक्टरसाप र महामन्त्री थापाबीच नराम्रो केही छैन तर, पछिल्लो समय पार्टीका निर्णयमा संस्थापन इतरको धारणा एउटै हुन सकेको छैन । सरकारमा पठाउने नेताका सन्दर्भमा नै केही असमझदारी भएको जस्तो बुझिन्छ,’ समूहका एक नेताले भने ।

सभापति देउवाले नेता कोइरालालाई शुक्रबार एक कार्यक्रममा वरिष्ठ नेताको उपाधि समेत स्वीकार गर्नुले केही नयाँ हुन लागेको भनेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया