बिहीबार, वैशाख १३, २०८१

पाल्पामा एक हजारभन्दा बढी अवैध युरिया मल बरामद

मेरोन्यूज २०८० जेठ २७ गते २०:४०

पाल्पा । जिल्लामा प्रहरीले अवैध युरिया मल बरामद गरेको छ । जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो ।

रामपुर नगरपालिका ५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैध रूपमा भण्डारण गरी राखेको ६५० बोरा र रम्भा गाउँपालिका १ स्थित काली गण्डकी करिडोर सडक खण्डमा प्रहरी चौकी हुँगीले ३७२ बोरा मल बरामद गरेको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो ।

केही दिनदेखि रामपुर ५ बेझाडस्थित विजय श्रेष्ठको घरको पहिलो तलाको भाडाको सटर कोठामा मल भण्डारण गरेको अवस्थामा ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशङ्का लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाइएको जानकारी दिए । सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला काटेर हेर्दा छ सय ५० बोरा मल फेला परेको उनले बताए ।

अवैध रूपमा भण्डारण भएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा सिल गरिएको छ । रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको टोलीले स्थलगत रूपमा अनुगमन गरेको छ ।

“अहिलेलाई सिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैध रूपमा ल्याएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानूनी कारबाही हुनेछ”, प्रहरी उपरीक्षक थापाले भने ।

यसैगरी, नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा शनिबार बिहान भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार ७४० किलो अर्थात तीन सय ७२ बोरा दुई लाख ९७ हजार छ सय मूल्य बराबरको बिल नभएको मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सो मल, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ । ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको हो । तर बिलमा भने क्रेता र पान नं. फरक/फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ ।

रामपुरमा ठूलो परिमाणमा भारतीय मल भित्रिएको आशङ्कापश्चात मल बिक्रेता विभिन्न सहकारीको पनि अनुगमन गरिएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, कृषि शाखा प्रमुख रामहरि पाण्डेय, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालसहित प्रहरी र पत्रकारहरूको उपस्थितिमा अनुगमन गरिएको हो ।

रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायत विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया