शुक्रबार, वैशाख १४, २०८१

श्रीलंकाले थप तीन सय वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

मेरोन्यूज २०८० जेठ २७ गते १९:५९

काठमाडौँ । श्रीलंका सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत तीन सयभन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको छ ।

राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति शुक्रबारदेखि लागू भएको हो ।

श्रीलंका सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, तीमध्ये आठ सयभन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

सन् २०२२ मा श्रीलंकाको कूल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११.४ प्रतिशतले कमी आएको सरकारी तथ्यांकले देखाएको छ ।

श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यक बाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको जनाएको छ ।

श्रीलंकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरुप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको बताए ।

प्रतिक्रिया