शुक्रबार, वैशाख १४, २०८१

खाण भन्छन् : राज्यले ममाथि षडयन्त्र रच्यो, ४/४ पटक सांसद र मन्त्री हुँदा राज्यकोषबाट अत्यावश्यकबाहेक उपचार खर्चसमेत नलिनेले भ्रष्टाचार गर्छ ?

मेरोन्यूज २०८० जेठ २५ गते ८:४७

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफूले ४/४ पटक सांसद र मन्त्री बन्दा राज्यले उपलब्ध गराउने उपचार खर्च र अत्याधिक बाहेकका सेवा सुविधान नलिएको व्यक्तिलाई नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने धन्दामा लाग्यो भन्नु आफूविरुद्ध राज्यले रचेको षडयन्त्र मात्रै भएको बताएका छन् ।

प्रहरी हिरासतमा भेट्न पुगेका नेता कार्यकर्तासँग र आफूले जिल्ला अदालत काठमाडौँमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको उपस्थितिमा दिएको बयानमा खाणले ईश्वरमा विश्वास गर्ने धार्मिक प्रवृत्तिको व्यक्ति भएकाले जनतालाई झुक्याउने, अनुचित लाभ लिने कार्य गर्नेबारे सोच्न पनि नसक्ने बताउँछन् ।

दैनिक टेकु प्रहरी परिसरमा आफूलाई भेट्न पुग्ने एक सय बढी नेता कार्यकर्ता तथा थुनछेक बहस भइरहेको जिल्ला अदालत काठमाडौँमा भेटिने शुभचिन्तकहरूसँग खाणले भन्छन्, ‘मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यले रचेको षड्यन्त्र हो । म यस मामलामा दोषी छैन । म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधीहरू सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’

शरणार्थी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नरहेको र कसुर गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित नगरेको उनको भनाइ हुने गर्छ ।

खाणलाई भेट्न पुगेकी कांग्रेस केन्द्रीय सदस्य राधा घलेले भनिन्, ‘दाई (खाण)ले आफ्नो राजनीतिक जीवन समाप्त पार्न राज्यले षडयन्त्र रचेको बताउनु भयो । जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि नसक्ने उहाँको भनाइ थियो ।’

राष्ट्र, राष्ट्रियता, राष्ट्रहित र राज्यविरुद्ध सोच्न पनि नसक्ने खाणले बताउँछन् । खाणलाई भेटन पुगेका कांग्रेस सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामाले खाणलाई आफूले भेट्दा आफूले सोच्न समेत नसक्ने विषयमा आरोप लगाएर फसाइएको बताएको जानकारी दिए । ‘मेरो आत्माले गर्नै नसक्ने काम ग¥यो भन्ने आरोप मलाई लगाइएको छ, त्यसमा सत्यता छैन,’ खाणको भनाइ उध्रित गर्दै कांग्रेस सिन्धुपाल्चोक उपसभापति लामाले भने ।

खाण २०४८ सालमा प्रतिनिधि सभाको सदस्य २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य बनेका थिए । उनी शिक्षा राज्यमन्त्री, सिंचाईमन्त्री, रक्षामन्त्री र गृहमन्त्री बनेका थिए । खाण पछिल्लो समय २०७८ असारदेखि २०७९ पुससम्म गृहमन्त्री बनेका थिए । उनी २०७३ को पुष्पकमल दाहाल नेतृत्ववको मन्त्रिपरिषद्मा रक्षा मन्त्री थिए ।

खाण लामो समयदेखि युरिक यसिड र पेटसम्बन्धी रोगका विरामी हुन् । यी रोगको उपचारका लागि भारतका विभिन्न अस्पतालसम्म खाण पुगेका छन् । संसद् सचिवालयका अनुसार उनले अहिलेसम्म औषधोपचारका लागि कुनै रकम लिएका छैनन् ।

शरणार्थी प्रकरणमा खाणलाई प्रहरीले २७ बैशाखमा उनकै चावहिलको मैजुवहालस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
विद्यार्थी राजनीति मार्फत २०३० सालबाट खाणले राजनीति प्रारम्भ गरेका थिए ।

खाणलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले ६० दिन अनुसन्धान गरी आरोपित सबैविरुद्ध ठगी, संगठित ठगी, राज्यविरुद्धको अपराध र कीर्ते गरी ४ आरोपमा जिल्ला अदालतमा अभियोजन पत्र दायर गरेको छ ।

खाणविरुद्ध कुनै तथ्यपरक प्रमाण पेस नभएको उनको पक्षबाट बहस गर्न लागेका पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीले बताए । ‘उहाँ(खाण)विरुद्ध कुनै तथ्यपरक प्रमाण प्रहरीले मिसिलमा पेस गर्न सकेको छैन,’खातीले भने ।

प्रतिक्रिया