मंगलबार, जेठ १, २०८१

बुढानीलकण्ठ विद्यालयको कीर्ते, विद्यार्थी भर्नामा अनियमितता

प्राधानाध्यापककै मिलोमतोमा कीर्ते नाममा विद्यार्थी भर्ना, शिक्षा मन्त्रालयसम्मै पुग्यो अनियमितताको उजुरी

शितल शर्मा २०८० जेठ २२ गते १७:२६

काठमाडौं । कृर्तिका बास्तोला र सुदेश्ना तिवारी दुवै पाँच कक्षाका विद्यार्थी हुन् । दुवै विद्यार्थीका अभिभावकलाई आफ्नी ‘छोरी’लाई बुढानीलकण्ठ स्कुल पढाउने भोक जाग्यो ।

Advertisement

अन्तर्राष्ट्रिय अभ्यासअनुसारको विषयवस्तु, सरकारले तोकेको पाठ्यक्रम, स्वच्छ वातावरण, वातावरणमैत्री पूर्वाधार, स्कुलभित्रै नलेजपार्क, चौविसै घण्टा सिक्न पाइने आधुनिक गुरुकुल, अन्य विद्यालयभन्दा फरक र व्यवस्थित सिकाइ हुने ठानेर उनीहरुको अभिभावको रोजाइ बनेको थियो– बुढानीलकण्ठ स्कुल । तर, बाहिर प्रचारमा भनिएजस्तो पढाउन सजिलो थिएन ।

विद्यालयले लिने प्रि-टेष्ट परीक्षामा नाम निकाल्नु पर्दथ्यो । सोर्सफोर्स नलाग्ने । आफ्नै मेहनतले नाम निकाल्नु पर्ने । मेरिटका आधारमा नाम निकालेका विद्यार्थीले मात्र अध्ययन गर्न पाउने… आफ्नो सन्तानलाई भर्ना गर्नुअगाडि दुवै विद्यार्थीका अभिभावकलाई त्यस्तै लागेको थियो ।

त्यसपछि उनीहरुले आफ्ना छोरीलाई प्रवेश परीक्षाको तयारी गराउन लगाए । कृर्तिका र सुदेश्नाले मेहनत गरेरै मेरिटमा निर्धारित कोटाभित्रै नाम निकाल्न सफल भए । दुवैको समान अंक र र्‍याङकिङमा प्रवेश परीक्षामा नाम प्रकाशित भयो । अर्थात कृर्तिका र सुदेश्नाले ५५ दशमलव ५ प्रतिशत अंकसहित ७७ औं स्थानमा नाम निकाले ।

विद्यालयले पैसा तिरेरै भर्ना गर्नेमा ९४ जनाको नाम निकाल्थ्यो । थप ४२ जना छात्रवृत्तिमा नाम निकालेर ५ कक्षामा भर्ना हुन आउँथे । यसरी कुलमा एउटा कक्षामा १३६ जना विद्यार्थी मात्र भर्ना हुन पाउने विद्यालयको नियम छ । तर, पैसा तिरेरै अध्ययन गर्न चाहेकामध्येको ७७ औं स्थानमा नाम निकालेका न कृर्तिका, न सुदेश्नाले नै विद्यालयमा सहज भर्ना पाए ।

विद्यालयले उनीहरुलाई शुरुमा भर्ना हुन दिएन । ‘वेटिङ लिष्ट’मा रहेको भन्दै उनीहरुका अभिभावकलाई विद्यालयका प्राधानाध्यपक होमनाथ आचार्यले पन्छाइरहे । तर, मेरिटमा अगाडि नाम निकालेका कृर्तिका र सुदेश्नाको नाममा विद्यालयका प्राधानाध्यापक आचार्यले प्रि टेष्टमा नाम ननिस्केका र मेरिटमा निक्कै पछि रहेका अन्य दुई विद्यार्थीको नामै बदलेर भर्ना गरिदिए ।

नक्कली नाममा अर्को विद्यार्थीले भर्ना पाउँदासमेत नाम निकालेका सक्कली विद्यार्थीले भर्ना पाएनन् । त्यसपछि खुल्यो – विद्यालय प्राधानाध्यापक आचार्यले गरेको बदमासीको फेहरिस्त ।

त्यसपछि विद्यार्थी भर्नामा विद्यालयका प्राधानाध्यापकले कतिसम्म चलाखी र बदख्याई गर्ने रहेछन् भन्ने पोल खुल्यो । सोर्सफोर्ससम्म नचल्ने र पारदर्शी प्रि टेष्ट परीक्षा हुने भनिएको विद्यालयमै भर्ना प्रक्रियामा प्राधानाध्यापक आचार्यले कतिसम्म चलखेल र अनियमितता गर्ने रहेछन् भन्ने एउटै प्रमाणले प्रष्ट देखाएको छ ।

नाममै कीर्ते गरेर अनियमितता

बुढानीलकण्ठ स्कुलमा विद्यार्थी भर्नाका लागि दुई थरी परीक्षा लिइन्छ । प्राध्यानाध्यापक आचार्यका अनुसार, पैसा तिरेर अध्ययन गर्नका लागि ९४ जना विद्यार्थीका लागि एउटा प्रवेश परीक्षा लिइन्छ । अर्को, देशैभरबाट ४२ जना विद्यार्थीका लागि छात्रवृत्तिमा अध्ययन गर्न प्रवेश परीक्षा लिइन्छ । यसरी विद्यालयले १३६ जना विद्यार्थी कक्षा ५ का लागि भर्ना लिने गरेको छ ।

कृर्तिका र सुदेश्नाका परिवारले पैसा तिरेरै पढाउने गरी आफ्ना छोरीहरुलाई विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागी गराएका थिए । कृर्तिकाको प्रवेश परीक्षाको आइडी नम्बर BNKS2534 थियो । ५५ दशमलव ५ प्रतिशत अंक ल्याएर मेरिटमा उनले ७७ औं स्थानमा नाम निकालेकी थिइन् ।

त्यस्तै, सुदेश्नाले पनि कृर्तिकाले जस्तै ५५ दशमलव ५ प्रतिशत नै अंक ल्याएकी थिइन् । मेरिटमा उनले पनि ७७ औं स्थानमा नाम निकालिन् । सुदेश्नाको प्रवेश परीक्षाको आइडी नम्बर BNKS1796 थियो ।

तर, उनीहरुले भर्ना हुन पाएनन् । कारण उनीहरुको नाममा अर्कै दुई जना विद्यार्थीले भर्ना पाए । प्रवेश परीक्षा नै उर्त्तीण नभएका र मेरिटमा निक्कै पछि रहेका विद्यार्थीहरुले भर्ना पाए । यतिसम्म कि, भर्ना भएकाको नाम नै बदलेर विद्यालयमा भर्नाको चाजोपाँचो व्यवस्था सबै मिलाइदिएका थिए– विद्यालयका प्राधानाध्यापक आचार्यले ।

कृर्तिकाको नाममा कृषा बास्तोला (आइडी नम्बर BNKS758)ले भर्ना पाइन् । कृषाले प्रवेश परीक्षामा जम्मा ३४ दशमलव ५५ प्रतिशत नम्बर पाएकी थिइन् । र, उनको मेरिट नम्बर ३९१ थियो । तर, उनलाई कृर्तिकाको नाममा अहिले विद्यालयले भर्ना गरिसकेको छ । उनको विद्यालयमा भर्ना भएको अहिलेको रोल नम्बर ३०८७ छ । जबकी उनको जन्मदर्तामा नाम कृषा बास्तोला छ ।

त्यस्तै, सुदेश्ना तिवारीको नाममा राशी कार्की (आइडी नम्बर BNKS921)ले भर्ना पाएकी छिन् । उनले प्रवेश परीक्षामा ५२ प्रतिशत नम्बर पाएकी थिइन । र, मेरिटमा उनको र्‍याङ्क ११४ थियो । उनलाई अहिले विद्यालयले सुदेश्नाको नाममा रोल नम्बर ३०२८ मा भर्ना गरिदिएको छ ।

नक्कली नाममा अर्को विद्यार्थीले भर्ना पाउँदासमेत नाम निकालेका सक्कली विद्यार्थीले भर्ना पाएनन् । त्यसपछि खुल्यो – विद्यालय प्राधानाध्यापक आचार्यले गरेको बदमासीको फेहरिस्त ।

यसअगाडि विद्यार्थी भर्नामा यो खालको अनियमितता नदेखिएको तर, अहिलेका प्राधानाध्यापक आचार्य विद्यालयको नेतृत्वमा आएसँगै भर्नामा अनियमितता देखिन थालेको विद्यालय स्रोतले जिकीर गरेको छ ।

असली कृर्तिका बास्तोला र सुदेश्ना तिवारीले भर्ना नपाएपछि विरोध हुन थाल्यो । उनका अभिभावकहरुले बुढानीलकण्ठ नगरपालिका, शिक्षा मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म विद्यालयका प्राधानाध्यपकविरुद्ध उजुरी दिने तयारी गरेपछि भने भर्ना पाएका छन् ।

आफ्नो बदमासी खुल्ने डरले प्रधानाध्यापक आचार्यले त्यसपछि नाम निकालेका दुवै विद्यार्थीलाई पनि एक साताअगाडि मात्रै भर्ना गरिदिएका छन् ।

अहिले ५ कक्षामा कृर्तिका बास्तोला र सुदेश्ना तिवारीका नाममा दुई-दुई जना विद्यार्थी भर्ना भएका छन् । प्राधानाध्यापक आचार्यले गरेको कीर्तेका कारण यो अवस्था विद्यालयमा जन्मेको छ । उनले आर्थिक लाभका लागि यो खालको अनियमितता गरेको र आफ्नो छोरीहरूलाई झण्डै-झण्डै पढ्ने वातावरण नै नदिएको गुनासो अभिभावकहरुको छ ।

आफ्नो बदमासी ढाकछोप गर्न, सञ्चार माध्यममा समाचार आउन नदिन र शिक्षा मन्त्रालयदेखि सरोकारवाला निकायको आँखा छल्नका लागि प्राधानाध्यपक आचार्यले पछि कृर्तिका र सुदेश्नालाई पनि भर्ना गरेका हुन् । उनको यो कदमले अब छात्रवृत्तिमा अध्ययन गर्न पाउने दुई जना विद्यार्थीको कोटा घटेको विद्यालय स्रोतले बताएको छ । यो अख्तियारको दुरुपयोग हो ।

प्राधानाध्यापक आचार्य आएपछि विद्यालयमा यो खालको समस्या निम्तेको हो । यसअगाडि विद्यार्थी भर्नामा यो खालको अनियमितता नदेखिएको तर, अहिलेका प्रधानाध्यापक आचार्य विद्यालयको नेतृत्वमा आएसँगै भर्नामा अनियमितता देखिन थालेको विद्यालय स्रोतले जिकीर गरेको छ ।

यो विद्यार्थीको अभिभावकले नाम फेर्न गरेको आग्रहका आधारमा विद्यालयले फेरेर भर्ना गरिदिएको हो, यसलाई अन्यथा किन लिनु र होइन ?

आचार्य प्राधानाध्यापक भएर आएपछि अनियमितता देखिएको यो पहिलो घटना भने होइन । त्यसो त यसअगाडिका भर्नामा पनि उनले कुनै न कुनै गोलमाल गरेको देखिन्छ । ०७८ को परीक्षामा समेत उनले परीक्षा उर्त्तीण गरिसकेका २१ जना विद्यार्थीलाई ‘रिटेस्ट’ भन्दै बोलाउने र त्यस आधारमा राजनीतिक पहुँच, सोर्सफोर्स र आर्थिक अनियमिततामा मेरिट तलमाथि गर्ने गरेको आरोप लागेको थियो ।

विद्यालयका प्राधानाध्यापक भन्छन्– मेयरको सिफारिसमा भर्ना गरेका हौं, अभिभावको आग्रहमा नाम फेरेका हौं

‘बुढानीलकण्ठ नगरपालिकाको सिफारिसमा उहाँ (कृषा)लाई भर्ना गरिएको हो, नगरपालिकाले लेटरहेडमै सिफारिस गरेको छ । त्यसपछि गरिएको हो ।

– होमनाथ आचार्य, प्राधानाध्यापक

मेरिटमा निक्कै पछि रहेका विद्यार्थीहरुले नाम फेरेर भर्ना गरिदिएकोमा प्राधानाध्यापक आचार्यले भने आफ्नो बचाउ गर्ने कोशिस गरेका छन् । उनले केही विद्यार्थी भर्नामा प्राधानाध्यापकको अधिकार भएको भन्दै आफ्नो बचाउ गरेका हुन् ।

उनले मेरिटमा केही नाम तलमाथि भए पनि भर्नामा प्राधानाध्यापकको केही अधिकार क्षेत्र रहने जिकीर गरे । मेरोन्यूजसँग टेलिफोन सम्वादमा आएका प्राधानाध्यापक आचार्यले भने,– ‘भर्ना गर्दा अगाडि पछाडिका नाममा केही सामान्य हेरफेर हुनु अस्वभाविक होइन, यो स्वभाविक प्रक्रिया नै हो, त्यो प्राधानाध्यापकको अधिकार पनि हो, यसलाई अन्यथा लिनु पर्ने कारण छैन ।’

उनले प्रवेश परीक्षामा विद्यार्थीहरुले प्राप्त गरेको नम्बर र प्रतिशतमा पटक-पटक केही फरक रहेको पनि बताए । विद्यालयमा दुई जना विद्यार्थीका नामका अर्को दुई विद्यार्थी भर्ना भएको विषयमा अभिभावकको आग्रहमा नाम फेरिएको बताए ।

प्रवेश परीक्षा दिँदाको नाम, जन्मदर्ता प्रमाण पत्रमा पनि त्यही नाम तर, भर्ना गर्दा अर्को नाममा विद्यार्थी भर्ना गर्न मिल्छ ? भन्ने मेरोन्यूजको प्रश्नमा प्राधानाध्यापक आचार्यले भने, ‘यो विद्यार्थीको अभिभावकले नाम फेर्न गरेको आग्रहका आधारमा विद्यालयले फेरेर भर्ना गरिदिएको हो, यसलाई अन्यथा किन लिनु र होइन ?’

त्यस्तै, मेरिटमा निक्कै पछाडि रहेका विद्यार्थी भर्नामा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको सिफारिसमा भर्ना गरिएको भन्दै उनले आफ्नो बचाउ गरे ।

कृर्तिका बास्तोलाको नाममा कृषा बास्तोलाले भर्ना गर्दा नगरपालिकाको सिफारिसमा भर्ना गरिएको उनको भनाइ थियो । ‘बुढानीलकण्ठ नगरपालिकाको सिफारिसमा उहाँ (कृषा)लाई भर्ना गािरएको हो, नगरपालिकाले लेटरहेडमै सिफारिस गरेको छ, त्यसपछि गरिएको हो,’ प्राधानाध्यापक आचार्यले मेरोन्यूजसँग भने ।

स्थानीयलाई छात्रवृत्तिमा दुई जनाको कोटा रहेको र एउटा कोटामा उर्त्तीण विद्यार्थी नभएकाले त्यो स्थानमा पैसा लिने गरी नगरपालिकाको सिफारिसमा एक जना विद्यार्थी (कृषाको कृर्तिका बनाई) भर्ना गरिएको आचार्यले बताए । सुदेश्नाको नाममा भर्ना भएकी राशीको भने उपत्यकाबाहिरको कोटामा भर्ना गरिएको उनले बताए ।

मेयर भन्छन्- नगरपालिकाले त्यसरी भर्ना गर्न सिफारिस गरेको छैन

प्रमाण चाहिएला नि, त्यसै आरोप लगाएर होला त ? म यस विषयमा धेरै बोल्दिनँ, कार्यालयमै आउनुस् बुझ्ने भए ।

-मिठाराम अधिकारी, प्रमुख, बुढानीलकण्ठ नगरपालिका

नगरपालिकाका मेयर मिठाराम अधिकारीले भने नगरपालिकाले कुनै विद्यार्थी भर्ना गर्न सिफारिस नगरिएको बताएका छन् ।

‘विद्यालय सिष्टममा चल्नुपर्छ, नगरपालिकाले कसैको नाम निकाल, पढाऊ भनेर सिफारिस गरेको छैन,’ अधिकारीले मेरोन्यूजसँग टेलिफोनमा भने । नगरप्रमुख अधिकारीले यस विषयमा कसैले बोलेर मात्र नहुने भन्दै प्रमाणसहित आउनु पर्ने बताए । ‘प्रमाण चाहिएला नि, त्यसै आरोप लगाएर होला त ?’ उनले भने ।

उनले यस विषयमा थप बुझ्न नगरपालिकाको कार्यालयमै आउन आग्रह गरे । अधिकारीले यत्ति भनेपछि थप बोल्न चाहेनन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया