शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिम प्रदेशसभाः आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक पारित

मेरोन्यूज २०८० जेठ २१ गते २०:५०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे ।

यसअघि विधेयकमाथि आजको बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य प्रकाशबहादुर बम, ओमविक्रम भाट, वीरबहादुर थापा, टीका थापा र जुनाकुमारी दानीले भाग लिएका थिए ।

पारित विधेयकमा निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनमा कर लगाउने व्यवस्था गरिएको छ ।

प्रदेशमा विद्युतीय सवारी साधनमा कर लगाउने यो नयाँ व्यवस्था हो । पारित विधेयकमा निजी विद्युतीय सवारी साधनतर्फ मोटरसाइकल र स्कुटरमा एक हजारदेखि तीन हजार कर लाग्ने व्यवस्था छ ।

यस्तै, निजी कार, जीप, भ्यान, माइक्रो बस र बसमा १० हजारदेखि ३० हजारसम्म र सार्वजनिक विद्युतीय सवारी साधनतर्फ कार, जीप, भ्यान, माइक्रोबस र बसमा दुई हजारदेखि १५ हजारसम्म कर लगाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया