शनिबार, वैशाख ८, २०८१

भारतको रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७५ जना पुगेको पुष्टि

मेरोन्यूज २०८० जेठ २१ गते २०:२७

काठमाडौँ । भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित संख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।

भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको बताए ।

उनले भने, ‘मृत्यु हुनेको संख्या २८८ भनी यस पहिले अपुष्ट रूपमा सञ्चार माध्यमबाट आएको तर आइतबार संशोधित संख्या २७५ जना भएको पुष्टि भएको छ ।’

जिल्ला प्रशासकद्वारा रेल दुर्घटनामा ज्यान गुमाएका केही व्यक्तिको दुईपटक गणना गरिएको पाइएको छ । अन्तिम गणनाबाट मृत्यु हुनेहरूको संख्या संशोधन गरी २७५ भएको पुष्टि गरिएको छ ।

ओडिसाका मुख्य सचिव प्रदीप जेनाले २७५ मध्ये ८८ जनाको मात्र पहिचान भएको बताए । अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७५ घाइतेमध्ये करिब ८०० जना उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतका संघीय रेलमन्त्री अश्विनी वैष्णवले रेल दुर्घटनाको कारण ‘पोइन्ट मेशिन’ र विद्युतीय ‘इन्टरलकिङ’ प्रणालीमा गरिएको परिवर्तन भएको बताए ।

वैष्णवले भने, ‘दुर्घटनाको लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गरिएको छ र रेलवे लाइनलाई पुनः स्थापित गर्ने प्रयासहरू अहिले जारी छन् ।’

दुर्घटना स्थलमा आइतबार साँझसम्म कम्तीमा दुई वटा रेललाइन सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया