शनिबार, वैशाख ८, २०८१

नेपाल-भारतबीच क्रसबोर्डर डिजिटल पेमेण्टले भुक्तानीमा सहजता आउँछ : गभर्नर

मेरोन्यूज २०८० जेठ २१ गते १६:१०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेण्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेण्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसिएचएल) र भारतको नेसनल पेमेण्ट कर्पोरेसन अफ इण्डिया (एनपिसिआई)बीच सम्झौताले दुई देश डिजिटल कारोबारमा सहजता ल्याउने बताए ।

उनले नेपाल र भारतका एकै किसिमका संस्थाबीच क्रसबोर्डर डिजिटल पेमेण्ट सम्झौता भएको भन्दै दुई देश सीमामा रहेका भुक्तानी समस्या समाधान हुने दाबी गरे । उनले नेपालमा डिजिल पेमेण्टको पूर्वाधार निर्माण गर्ने एसिएचएललाई राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने बताए ।

उनले दुई देशबीच भएको क्रसबोर्डर डिजिटल पेमेण्ट सम्झौताले मुख्य गरी भारतबाट नेपाल आउने पर्यटकलाई रहेको पेमेण्टको समस्या हल गर्ने बताएका थिए । उनले नेपालबाट भारत जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी, पर्यटक र तीर्थयात्री सबैलाई नोट साट्नु पर्ने बाध्यता हट्ने दाबी गरे ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले दुई देशबीच हुने डिजिटल भुक्तानीलाई व्यवस्थित बनाउने विषयमा होमवर्क गरिरहेको बताए । उनले भने, ‘भर्खरै भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी सम्झौता भएको छ, यसका लागि हामी अरु होमवर्कहरु गर्ने छौं, राष्ट्र बैंकबाट दिनु पर्ने सहमति स्वीकृतिका लागि राष्ट्र बैंकमा छुटै ट्रान्सफोर्स बनेको छ, मलाई लाग्छ डिजिटल कारोबारमा थप सहजता प्रदान गर्नेछ ।’

गभर्नर अधिकारीले राष्ट्र बैंकबाट दिनु पर्ने सहमति स्वीकृतिका लागि सहजीकरण गर्न राष्ट्र बैंकमा छुटै ट्रान्सफोर्सले काम गरिरहेको बताए । उनले भारतमा भारत पे लोकप्रिय रहेको भन्दै नेपालमा पनि नेपाल पे ल्याउने तयारी रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत बिहीबार क्रसबोर्डर डिजिटल पेमेण्टका लागि समझदारी भएसँगै दुवै देशबीच हुने डिजिटल भुक्तानी कारोबारले मान्यता पाउने भएको हो ।

सम्झौतामा नेपालको तर्फबाट एसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधान र भारतको तर्फबाट एनपिसिआईका तर्फबाट रितेस शुक्लाले हस्ताक्षर गरेका थिए ।

एसिएचएल नेपाल राष्ट्र बैंकको पहलमा स्थापना भएको संस्था हो । एनपिसिआई पनि भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाद्वारा स्थापित संस्थान हो ।

प्रतिक्रिया