बिहीबार, वैशाख १३, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण

थुनछेक बहसका लागि जिल्ला अदालतमा ल्याइयो १८ आरोपित

मेरोन्यूज २०८० जेठ २१ गते १२:१४

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा निलम्बित एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो ।

पक्राउ परेकाहरुसँगको बयान शुक्रबार सकिएको थियो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएपछि उनीहरुलाई पुर्पक्षमा पठाउने कि नपठाउने भन्नेबारे आजबाट थुनछेक बहस सुरु हुँदैछ ।

वयानको सबै फाइल शुक्रबार अवेरमात्रै पाएकाले अध्ययन गर्न समय चाहिने भन्दै जाहेरीकर्ताका कानून व्यवसायी र सरकारी वकिलले केही समय मागेका थिए । तर, न्यायाधीश न्यौपानेले समय दिन अस्वीकार गरेका थिए ।

इजलासले अनुमती दिएको अवस्था बाहेक आजदेखि नै थुनछेक बहस सुरु हुनेछ ।

शुरुमा सरकारी वकिल र जाहेरीकर्ताका कानून व्यवसायीहरुले आरोपितहरुलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नेछन् । त्यसपछि मात्रै आरोपितहरुको प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुको पालो आउनेछ । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरुलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे निर्णय हुने छ ।

यस प्रकरणमा गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले वयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया