शुक्रबार, चैत १६, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरण

सरकारी वकिलले मिसिल र बयान अध्ययनका लागि मागेको समय न्यायाधीशले नदिने !

मेरोन्यूज २०८० जेठ २१ गते ८:४३

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ आरोपितको जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा लिने बयान शुक्रबार सकिएको छ ।

आज (आइतबार)बाट आरोपितहरूको छुनछेकको बहस सुरु गर्ने तयारी काठमाडौँ जिल्ला अदालतको थियो । तर, सरकारी वकिल कार्यालय काठमाडौँले मिसिल र आरोपितहरूको बयान अध्ययन गर्नका लागि तीन दिन समय मागेकाले आइतबारबाट बहस हुने।नहुने अन्यौल छ ।

सरकारी वकिलले मागेको समय जिल्ला न्यायाधीश न्यौपानेले उपलब्ध गराएमा बुधबारबाट मात्रै छुनछेकको बहस सुरु हुनेछ । न्यायाधीश न्यौपानेले भने सरकारी वकिललाई शुक्रबार नै तीन दिन समय उपलब्ध गराउन नसकिने, अध्ययनका लागि समय दिने नदिने निर्णय आइतबार बिहान गर्ने बताएका थिए । त्यसैले सरकारी वकिलले मागेजति समय नपाउने निश्चित छ ।

एक/दुई दिन समय दिने कि भन्नेमा पनि न्यायाधीश सल्लाहमा रहेको जिल्ला अदालत स्रोतले बतायो ।

यता यही प्रकरणका आरोपित पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका पक्षबाट बहस गर्न लागेका पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीले सरकारी वकिललाई अध्ययनका लागि समय दिँदा गलत सन्देश जाने भएकाले जिल्ला न्यायाधीशले समय उपलब्ध गराउने सम्भावना न्यून रहेको बताए ।

Advertisement

‘यति लामो र ठूलो संख्यामा आरोपित भएको मुद्दामा मिसिल अध्ययनका लागि समय उपलब्ध गराउँदा गलत सन्देश जान्छ । त्यसैले सरकारी वकिलले अध्ययनको लागि समय पाउने सम्भावना न्यून छ,’ खातीले मेरोन्यूजसँग भने, ‘उहाँ (जिल्ला न्यायधीश)ले आज छलफल गरौँ भन्नुभएको छ । सायद आजै खाजा समयपछि बहस सुरु हुन्छ होला ।’

जिल्ला सरकारी वकिल कार्यालयले १० जेठमा ३० जनालाई आरोपित बनाएर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । १२ जेठबाट न्यायाधीश न्यौपानेको उपस्थितिमा सुरु भएको आरोपितको बयान शुक्रबार (१९ जेठ)मा सकिएको थियो ।

आरोपितमध्य १८ जना पक्राउ परेका छन् भने १२ जना फरार छन् । फरार मध्य पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक र यही प्रकरणमा पक्राउ परेका बादल गृहमन्त्री हुँदा सुरक्षा विज्ञ रहेका इन्द्रजित राईका छोरा निरजलाई प्रहरीले पक्राउ पूर्जी नै जारी गरेको छ ।

प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव एवं बहालवाला सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका निलम्बित सचिव टेकनारायण पाण्डे, राई, पूर्वसांसद आङतावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष समशेर मियाँसहितलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया