मंगलबार, वैशाख ४, २०८१

महाकालेश्वरमा मुख्य अतिथिले गेरुबस्त्र लगाउनै पर्ने प्रोटोकल रहेछ : प्रधानमन्त्री प्रचण्ड

मेरोन्यूज २०८० जेठ २० गते २१:०७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् ।

उक्त विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोबारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताए ।

भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्किएका उनले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने दोहोर्‍याए ।

‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन, अहिले तपाईहरुले भन्नु भयो नि ईपीजीको कुरा, यो हामी सबैको चासोको विषय हो, मैले आफ्नो ढंगले कुरा गरेको छु,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण फलदायी भएको बताउँदै दुई देशबीच भएको सहमति, समझदारी कार्यान्वयनमा लैजानु पर्ने बताए ।

प्रधानमन्त्री दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरुबस्त्र धारण गर्नु परेको बताए । सो मन्दिरमा मुख्य अतिथिले गेरुबस्त्र धारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौं भारतीय मनमा चिसो पस्ने भएकाले उक्त बस्त्र धारण गरिएको उनको स्पष्टिकरण थियो ।

‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो, धर्म निरपेक्षता भनेको धर्म विरोधी होइन नि, सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो, आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बिहरुप्रति समान व्यवहार गर्नु पर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अब मध्य प्रदेशमा जाने, इण्डोरमा जाने, नजिकै ऐतिहासिक सहर हो उज्जेन भनेको, महाकालेश्वर, एकै दिन डेढ लाख मान्छे जान्छन त्यहाँ हेर्न, पूजा गर्न, त्यहाँ के रहेछ भने मुख्य अतिथिले गेरुबस्त्र लगाउनै पर्ने प्रोटोकल रहेछ, नलगाऊ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने, के हो यो नेपाल सरकार भन्थे ? सहज ढंगले गर्दा सबै खुशी भएँ, यसलाई सांस्कृतिक कुटनीतिको रुपमा लिनु पर्ने हो, नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनु पर्दछ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रुपान्तरण गर्न सफल भएको बताए ।

प्रतिक्रिया