बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्तिप्रति संसदमा जवाफ माग्ने एमालेको निर्णय

मेरोन्यूज २०८० जेठ २० गते १९:२४
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहितविपरित अभिव्यक्ति दिएको भन्दै संसदमा जवाफ माग्ने बताएको छ ।

शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले दाहालले भारत भ्रमणमा सञ्चारकर्मीसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो दिए कालापानी र लिपुलेक दिन सकिने अभिव्यक्ति दिएका थिए ।

‘हाम्रो सीमा समस्याबारे किन बोल्न सक्नुभएन ? फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमिसम्म दिन तयार छौँ भन्ने प्रकारको यस्तो गैरजिम्मेवार, राष्ट्रहितविपरीत, राष्ट्रघातका कुराहरु किन त्यस्ता अभिव्यक्ति दिनुभयो,’ उनले भने, ‘त्यसले देशको गरिमामा आँच आएको छ, सिंगो नेपाली जनताको शिर निहुरिएको छ, यी सबै विषय हामीले सघन ढंगले सदनमा उठाउँछौँ, प्रधानमन्त्रीसँग जवाफ माग्छौँ ।’

पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहितका कुनै विषय उठान गर्न नसकेको बताए ।

उनले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसदमा उठान गर्ने भनेका विषय किन उठाउन नसकेको भन्ने प्रश्न गरे । उनले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको दाबी गरे ।

Advertisement

‘बजेटका बारेमा भोलिबाट छलफल शुरु हुँदैछ, हाम्रो माननीय सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने ? भन्ने र बजेटमा के कमी छन्, कहाँ कमजोरी छन् भन्ने बारेमा अहिले मुलुकको अवस्थालाई बजेटले सम्बोधन हुन सकेको छ, छैन भन्ने बारेमा विज्ञहरुबाट धेरै प्रष्ट पार्नु भएको छ,’ उनले भने, ‘त्यसमा हामीले अन्तरक्रियात्मक ढंगले छलफल पनि गरेका छौँ, पार्टीको अध्यक्ष, संसदीय दलको नेताले समग्र मुलुकको अहिलेको राजनीतिक अवस्था, बजेट वक्तव्य, अर्थतन्त्र, जनताको अपेक्षाका सन्दर्भमा बजेटले पार्न नसकेका विभिन्न पक्षहरुको बारेमा आफ्ना धारणा राख्नु भयो ।’

प्रमुख सचेतक गिरीले धरातलीय यथार्थलाई नबुझी बजेट ल्याइएको दाबी गरे । बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको उनको दाबी थियो ।

प्रतिक्रिया