बुधबार, वैशाख ५, २०८१

जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा

मेरोन्यूज २०८० जेठ २० गते १९:१४

जुम्ला । जिल्लामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ । यहाँ ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने अरु कैयौँ बिरामी छन् ।

जिल्लाको विशेष गरी कनकासुन्दरी गाउँपालिका ७ स्थित देयारपाटामा यसको प्रकोप बढी मात्रामा देखिएको थियो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सुमाइले सो स्थानका ६१ वर्षीय दिपु उपाध्याको भाइरल ज्वरोबाट मृत्यु भएको जानकारी दिए ।

सो क्षेत्रमा भाइरल ज्वरोले ५३ बिरामी परेका र वडाका स्थानीयवासीको उपचारका लागि जनस्वास्थ्य कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली त्यहाँ पुगेको छ । उपचारपछि अहिले सबैको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

उनका अनुसार अहिले ज्वरो नियन्त्रणमा आएको छ । सूचना अधिकारी सुमाइले बिरामी परेका ५३ जनामध्ये आठको अवस्था गम्भीर रहेको र तीमध्येका दुई जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उपचारपछि स्थानीयवासीको स्वास्थ्यमा सुधार आएको र बिरामीको अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ । उनीहरुलाई ज्वरो आउनुका साथै आँखा, टाउको र घाँटी दुख्ने जस्ता लक्षण देखा परेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी सुमाइको भनाइ छ ।

उक्त वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विशाल रोकायासहित जनस्वास्थ्य कार्यालयका चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

कनकासुन्दरीको वडा नं ७ मा एक सय १५ घरधुरी छन् । प्रत्येकको घरघरमै पुगेर स्वास्थ्यकर्मीले उपचार सेवा दिएका कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया