शुक्रबार, चैत १६, २०८०

सहकारीबाट बचत फिर्ता माग्दै आन्दोलन

मेरोन्यूज २०८० जेठ २० गते १७:०४

काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

सहकारीबाट ठगिएका पीडित एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनु पर्ने माग राख्दै शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता पीडितले सहकारीले खाएर भागेको बचत फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए ।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताका लागि राज्यका सबै निकायहरु धाउँदा कतै सुनुवाई नहुँदा संयुक्त रुपमा पीडितहरू सडक आन्दोलनमा आएको बताइन् ।

उनले सरकारसँग सहकारी पीडितको माग सहकारीलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनु पर्ने र सहकारीले बनाउने निजी ऐन बन्द गर्नु पर्ने रहेको बताएकी थिइन् ।

Advertisement

पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, बचतकर्ता रकम अविलम्व फिर्ता गर, आमा नागरिकको बचत फिर्ता गर, सहकारी सञ्चालकको सम्पती तत्काल रोका गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीहरुलाई कारबाही गरसहित नारा लगाएर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया