बिहीबार, वैशाख १३, २०८१

सरुवा–बढुवा गर्न नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

मेरोन्यूज २०८० जेठ २० गते १६:२२

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन् । उनले एक कार्यक्रममा आज लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै त्यसो गर्नेहरूलाई कारबाही हुने उनले प्रष्ट पारे । ‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो, मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो, विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु, खबरदार कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु,’ उनले भने ।

मुलुक यसरी नचल्ने बताउँदै उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने बताए । आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले बताए ।

रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनपर्‍यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए । ‘त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ, सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ, शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिनपरो भन्नुहुन्छ,’ उनले भने, ‘त्यसो त हुन्न भन्दा तपाईंले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ, सय पटक चुनाव हार्न तयार छु, तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ ।’

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताए। 

प्रतिक्रिया