शुक्रबार, वैशाख १४, २०८१

बालकृष्ण खाँणको इन्कारी बयान

‘धार्मिक ब्यक्ति हुँ, जनतालाई झुक्याउने र अनुचित लाभ लिने कुरा सोच्न पनि सक्दिन’

मेरोन्यूज २०८० जेठ २० गते १५:३३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आफु धार्मिक ब्यक्ति भएकोले जनतालाई झुक्याउने र अनुचित लाभ लिने कुरा सोच्न पनि नसक्ने जिकिर गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित भई काठमाडौं जिल्ला अलदालतमा लागेको अभियोजनको बयान दिने क्रममा खाँणले इन्कारी बयान दिँदै त्यस्तो बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई गत बैशाख २७ गते प्रहरीले उनकै निवास मैजुबहाल चावहिलबाट पक्राउ गरेको थियो ।

त्यसयता उनी निरन्तर प्रहरी हिरासतमा छन् । गृहमन्त्री हुँदा उनले नक्कली भुटानी शरणार्थी प्रक्रणमा मुछिएका केशलव दुलाल, सानु भण्डारी, एमालेका निलम्बित सचिव टोपवहादुर रायमाझी, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे लगायतसँग मिलेर उनीहरुको योजनामा अनुचित लाभ लिने गरी काम गराएको आरोप लागेको छ ।

उनीमाथी १ करोड ४३ लाख बढी रकम प्रत्यक्ष लिएको आरोप छ ।

तर खाँणले शुक्रवार काठमाडौं जिल्ला अदालतका न्यायाधीस प्रेमप्रसाद न्यौपानेको इजालसमा ठगी लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्वन्धी कसूर मुद्दामा प्रतिवादीका रुपमा दिएको बयानमा सवै आरोपमा इन्कारी बयान दिएका हुन् । उनले अदालतमा दिएको बयान मेरोन्यूजले प्राप्त गरेको छ ।

उनले त्यसक्रममा आफु धार्मिक प्रवृत्तिको ब्यक्ति भएको र जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि नसक्ने बयान दिएका छन् ।

खाँणसँग २४ प्रश्नमा रहेर अदालतमा बयानका क्रममा सवालजवाफ गरिएको थियो । त्यसक्रममा उनले सबै प्रश्नमा इन्कारी बयान दिएका हुन् ।

उनले आफुविरुद्ध सरासर स्वन्छ सुनुवाई र प्राकृतिक न्यायको सिद्धान्त विपरीत मुद्दा लगाउन खोजिएको बताएका छन् । उनले बयानका क्रममा भनेका छन्, ‘ मलाई फसाउने उदेश्यले मुद्दा लगाउन खोजिएको हो । म न्यायमूर्तिसँग याचना गर्दछु । उक्त कसुरमा सवै झुटटा आरोप र मुद्दाहरु लगाइएका हुन् । उक्त कसुरमा मेरो संग्लननता नरहेको हुँदा अभियोग माग दावीबाट फूर्सद दिलाई पाउ । सफाई पाउ ।’

खाँणले टोपवहादुर रायमाझी राष्टिय नेता भएकोले चिन्ने, टेकनारायण पाण्डे सचिव भएकोले, नरेन्द्र केसी आफनो पहिलाको नीजि सचिव भएकोले, शमशेर मियाँ हज कमिटिको अध्यक्ष भएकोले र आङतावा कांग्रेसको नेता भएकोले चिनेपनि अन्य यस प्रकरणँसग जोडिएका कुनै ब्यक्तिलाई आफुले नचिनेको र नभेटेको जिकिर गरेका छन् ।

खाँणले राष्ट, राष्टियता र राज्यविरुद्ध आफुले सोच्न पनि नसक्ने पटक पटक जिकिर गरेका छन् । उनले आफु गाँउबाट मेहनत गरेर आएको मान्छे भएको र यस्तो मान्छेले त्यस्तो सोच्न पनि नसक्ने भन्दै बयानका क्रममा अगाडी भनेका छन्, ‘राष्ट र जनताप्रतिको समर्पढण प्रजातन्त्र प्रतिको प्रतिवद्धताबाट उठेको मान्छे हुँ । विधार्थी कालमा त्रिभूवन विश्वविद्यालय स्ववियु सभापति, नेविसंघको केन्द्रीय अध्यक्ष, २०४६ सालमा सम्हालेको र २०५४ मा तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी लिएको ब्यक्ति हुँ । २०४८ मा प्रतिनिधिसभा सदस्य, २०६४ र २०७० मा संविधानसभा सदस्य, २०७४ मा प्रतिनिधिसभा सदस्य भएको ब्यक्ति हुँ । विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हालेको छु । पछिल्लो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाले । त्यसक्रममा संविधान र कानुनको पालना गदै देशमा शान्ति सुब्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु । यसकारण पनि मैले अरु विषय सोच्न पनि सक्दिन ।’

खाँणले आफनो परिवारमा आफु, श्रीमति, छोरा छोरी र आमा गरी पाँचजनाको परिवार रहेको र यो परिवारलाई आफनो घरभाडा, कृर्षि उत्पादन लगायतले नै सहज जीवन जीउन पुग्ने जिकिर गरेका छन् । ‘बुटवलमा एउटा घर छ सोको घरबाट घरभाडा आउँछ । जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृर्षिजन्य उत्पादन हुन्छ । काठमाडौं अनामनगरमा एउटा पूरानो घर छ, सो बाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीहरुबाट हाम्रो जीवन सहजसँग चलेको छ,’ खाँणले भनेका छन् ।

खाँणले आफनो साक्षी प्रमाणका रुपमा चितवन भरतपुर वडा नम्बर ३ बस्ने ६१ वर्षका दीर्घमान श्रेष्ठ, काठमाडौं महनागर ३० बस्ने ५९ वर्षका राधा घले र दोलखा भिमेश्वर नगरपालिका २ बस्ने ४६ वर्षका अनुप प्रधानलाई राखेका छन् ।

उनले प्रेमराज पन्थी, केशव दुलाल कोही कसैलाई नचिनेको र उनीहरुसँग आफनो कुनै लेनदेनको विषय पनि नरहेको जवाफ अदालतमा बयानका क्रममा दिएका छन् ।

प्रेमराज पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन खाँण गृहमन्त्री र टेकनारायण पाण्डे सचिव हुँदा फेरबदल गरेको भन्ने आरोपमा पनि उनले आफुलार्इ केही जानकारी नरहेको बताएका छन् । ‘मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्ने सम्वन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो । तसर्थ प्रतिवेदनमा फेरबदल भएका बुँदाहरुका सम्वनधमा राख्नेहरुले नै जिम्मेवारी लिनुपर्ने हो । परिवर्तन सम्वन्धमा मलाई थाहा हुने कुरा भएन,’ खाँणले बयानका क्रममा भनेका छन् ।

उनले मोवाइल फरम्याटका विषयमा पनि प्रमाण मेटने कार्य कुनै नगरेको बताएका छन् । खाँणले केशव दुलालसँग आफनो प्रत्यक्ष भेट र लेनदेन नभएको, टेकनाथ रिजालको अनुसन्धानका क्रममा भएको बयानका बारेमा जानकारी नरहेको र आफना पहिलेका स्वकीय सचिव नरेन्द्र केसीले अनुसन्न्धानका सम्वन्धमा खुलाए वमोजिमको कागजका बारेमा के कसलाई किन के लेखिएको आफुलाई कुनै जानकारी नरहेको बताएका छन् ।

यो मुद्दामा पक्राउ परेका सबैको बयान सकिएको छ । बयानपछि भोलि आइतबारबाट थुनचेक बहस चल्दैछ । त्यसपछि मुद्दामा खाँण, टोपवहादुर रायमाझी लगायतका नेता र अन्य पक्राउ परेकाहरु जेल जाने या के गर्ने भन्ने निधो लाग्नेछ ।

प्रतिक्रिया