शुक्रबार, वैशाख १४, २०८१

भारतीय व्यवसायीलाई प्रधानमन्त्रीले भनेः नेपालकाे सूचना प्रविधि क्षेत्रमा लगानी गर्नुस्

मेरोन्यूज २०८० जेठ २० गते १२:२१

काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन् ।

भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका हुन् । उनीसँग भ्रमण दलमा रहेका मन्त्री तथा व्यवसायीहरू पनि स्थलगत अवलोकनमा सहभागी थिए । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा त्यहाँको परिसरमा वृक्षारोपण पनि गरेका छन् ।

कन्सल्टेन्सीको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् ।

उनले भने, “टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ । लगानी गर्नुस् त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौँ ।” प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए ।

सोही क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गर्नुभयो । “नेपालको ‘आइटी सेक्टर’मा पर्याप्त जनशक्ति छन् लगानी गर्न आउनुस् हामी स्वागतका लागि आतुर छौँ”, उनले भने ।

भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दाबढी मुलुकमा काम गर्दै आएको छ । उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन् । इन्डौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरुसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत आउनुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशस्थित इन्दोर आइपुग्नुभएको हो । आज साँझ प्रधानमन्त्री काठमाडौँ फर्कंने कार्यसूची छ ।

प्रतिक्रिया