मंगलबार, वैशाख ११, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण

साढे ६ घण्टाको बयानमा निलम्बित सचिव पाण्डेले गरे वकिलसँग पटक-पटक परामर्श

मेरोन्यूज २०८० जेठ १८ गते ७:३७

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका निलम्बित सचिव टेकनारायण पाण्डेले जिल्ला अदालत काठमाडौँमा साढे ६ घण्टा बयान दिएका छन् । बुधबार बिहान साढे ११ बजेबाट सुरु भएको पाण्डेको बयान साँझ ६ बजेमात्र सकिएको थियो ।

बयानका क्रममा पाण्डेले आधा दर्जन बढी कानुन व्यवसायीसँग पटक–पटक बयानबारे परामर्श गरेका थिए । त्यतिमात्र होइन उनले बयानका क्रममा आफूले बोलेका कुरामा समेत रातो मसीले सच्याएका थिए ।

बालकृष्ण खाण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका पाण्डे पक्राउ पर्ने बेलामा उपराष्ट्रपति कार्यालयको सचिव थिए ।

उनले इजलाससमक्ष प्रहरी हिरासतमा टर्चर रहेको र सञ्चारमाध्यमले असत्य कुरा लेखेर प्रचार प्रसार गरेको बताएका थिए ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा पाण्डेले ‘३ दिनदेखि रिसोर्टमा लुकेर बसेका थिए सचिव’ भनेर गलत प्रचार गरेको गुनासो गरे । आफूलाई बदनाम गर्न मिडियाले जे मनलाग्यो त्यही लेखेको आरोप उनको थियो ।

पाण्डेलाई केशव दुलालसँग भएको ह्वाट्स एपमा भएको कुराकानीबारे इजलासले प्रश्न गरेको थियो । जवाफमा पाण्डेले आफूले कुराकानी गरेको स्वीकार्दै त्यो कुराकानी नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रित नभएको बताएका छन् । पाण्डेले सूत्र परिचालन गर्न शरणार्थी प्रकरणमा संलग्न गिरोहका सदस्य केशव प्रसाद दुलालसँग कुरा गरेको बताए ।

सरकारी वकिल कार्यालयले केशव प्रसाद दुलाल र सचिव पण्डेको बीचमा भुटानी शरणार्थीका कोटामा अमेरिका पठाउने सम्बन्धी ह्वाट्स एपमा भएको कुराकानी अदालतमा पेस गरेको छ । ‘एसएमएस कुराकानी सूत्र परिचालनका लागि गरेको हुँ,’ पाण्डेले बयानका क्रममा भने ।

पाण्डेमाथि शरणार्थी सम्बन्धी कार्यदलले तयार गरेको प्रतिवेदनमा फेरबदल गरेको आरोप पनि लगाइएको छ । गृह मन्त्रालयले दुईथरी प्रतिवेदन अनुसन्धानको क्रममा प्रहरीलाई उपलब्ध गराएको थियो ।

अन्य आरोपितको बयानमा भन्दा इजलास पाण्डेको हकमा नरम देखिएको थियो । यसअघिका बयानमा आरोपितले बयान सुरु गरेपछि कानुन व्यवसायीसँग परामर्श गर्न कडाई गरेको इजलासले पाण्डेलाई पटक–पटक आधा दर्जन वकिलसँग परामर्श गरेर बयान सच्याउन सुविधा दिएको थियो ।

प्रतिक्रिया