शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा को को पर्छन् ?

आधा दर्जन मन्त्री, ८ सचिवसहित दलका नेतासहित हाराहारी १०० जना पुग्ने

मेरोन्यूज २०८० जेठ १५ गते १२:४०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ १७ देखि चार दिने भारत भ्रमणमा जाँदै छन् । उनको भ्रमण टोली हाराहारी १०० जना जति हुने निकटस्थ स्रोतहरूले बताएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले दिएको जानकारी अनुसार अहिलेसम्म आधा दर्जन मन्त्री करिब दर्जन सचिव र दलका नेताहरूको नाम छान्ने काम भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल र कृषिमन्त्री वेदुराम भुसाल टोलीमा पर्नेछन् ।

त्यस्तै परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृह सचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल पनि टोलीमा जाने निश्चित भएको छ ।

टोलीमा मुख्यसचिव शंकरदास बैरागी पनि भारत जानेछन् ।

Advertisement

प्रधानमन्त्रीको सचिवालयबाट छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल पनि भारत भ्रमणमा जाने सूचीमा परेका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारीलाई पनि लैजाने तयारी गरिएको छ ।

त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन् । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, गेटा मेडिकल कलेजका निर्देशक प्रमोद जोशी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशसिंह प्रधान टोलीमा भारत जाने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारी प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ ।

निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, कन्फेडेरेसन अफ नेपलिज् इन्डस्ट्रिजलगायत संस्थाका प्रतिनिधिहरू पनि भ्रमण टोलीमा हुनेछन् ।

प्रतिक्रिया