शुक्रबार, वैशाख १४, २०८१

घरभाडामा छुट दिन होटल व्यवसायीको माग

मेरोन्यूज २०८० जेठ १४ गते २१:३०

काठमाडौँ । होटल व्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् ।

आज बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले कोरोना महामारिपछि व्यवसायमा मन्दी छाएकाले भाडामा छुट दिन आग्रह गरेका हुन् ।

सङ्घका अध्यक्ष लेखनाथ भण्डारीले आर्थिक अभावका कारण भाडा तिर्नसक्ने अवस्था नरहेकाले घरभाडामा छुट दिँदा व्यवसायीलाई राहत मिल्ने बताए ।

संस्थागत पहलमा १४ जना घरधनीबाट २० देखि ४० प्रतिशतसम्म छुट प्राप्त भएको उनले जानकारी गराए ।

उनका अनुसार रुपन्देहीमा रहेकामध्ये ९० प्रतिशत होटल भाडामा सञ्चालित छन् । हाल सङ्घमा एक हजार दुई सय तीन व्यवसायी आबद्ध रहेको र पाँच हजार व्यक्तिले रोजगार पाएको अध्यक्ष भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा होटल व्यवसायी घरबहाल व्यवस्थापन समितिका संयोजक किरणप्रसाद भट्टराईले व्यवसायीलाई दैवीप्रकोपलगायतका कठिनाइमा संस्थाबाट सहयोग गर्दै आएको बताएका थिए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा एक हजार दुई सय ४७ वटा पर्यटक होटल रहेको बताउँदै यसमध्ये १८ हजार सात सय पाँच कोठा र २८ हजार ५७ शय्या रहेको जानकारी गराए ।

सङ्घका अनुसार जिल्लामा पाँचतारे तीन वटा, चारतारे तीन वटा र तीन तारे करिब १५ होटल रहेका छन् । यस्तै ए लेभलका तीन सय होटल छन । यहाँ पर्यटन क्षेत्रमा कूल ३० खर्ब रूपैयाँभन्दा बढी लगानी रहेको खनालले बताए ।

प्रतिक्रिया