शनिबार, वैशाख ८, २०८१

हिमाली किसानलाई कफीका विरुवा वितरण

मेरोन्यूज २०८० जेठ १४ गते १९:४३
फाइल फोटो

काठमाडौँ । हिमाली कफी उत्पादक कृषक समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपाले ६० घरधुरी किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गरेको छ । कृषक समूहले उत्पादन गरेको २५ हजार कफीका बिरुवा बुइपास्थित छिप्तिका किसानलाई आज निःशुल्क वितरण गरिएको हो ।

कृषक समूहले उत्पादन गरेको अरेबिका जातको कफीको विरुवा नगर उपप्रमुख विशन राई र बुइपाका वडाध्यक्ष दिनेश राईले किसानलाई हस्तान्तरण गरेका हुन् । काभ्रेबाट २० हजारमा खरिद गरेर ल्याएको कफीको बीउबाट उत्पादन गरिएको बिरुवा किसानलाई निःशुल्क वितरण गरिएको समूहका अध्यक्ष सुमन राईले बताए ।

किसानको मागअनुसार दुईदेखि पाँचसम्म निःशुल्क विरुवा वितरण गरिएको समूहले जनाएको छ । किसानलाई बाँझो जग्गामा कफीका विरुवा लगाउन उत्प्रेरित गर्ने र कफीमा आत्मनिर्भर बनाउँदै व्यावसायिक रुपमा अगाडि बढाउन निःशुल्क विरुवा वितरण गरिएको समूहका अध्यक्ष राईले जानकारी दिए ।

बुइपामा उत्पादित कफीका बिरुवाको माग अत्याधिक रहेकाले अर्को वर्ष थप विस्तार गर्ने तयारी थालिएको समूहले जनाएको छ । वर्ष दिन अघिबाट स्थापना भएको सो कृषक समूहले बिरुवा उत्पादनलाई अझ बृहत बनाउन वडा ३ बाम्राङ र वडा १५ विजयखर्कका किसानसँग सहकार्य गरिरहेको बताइएको छ ।

कफीलाई व्यवसायीकरण गर्दै कफी खेतीबाटै जीविकोपार्जन गराउन नगरपालिकाले नीति तथा कार्यक्रम बनाएको नगर उपप्रमुख राईले बताए । ‘नगरपालिकाले कृषि खेतीलाई पहिलो प्राथमिकतमा राखेर काम गरिरहेको छ । किसानले कफी खेतीलाई व्यावसायीकरण गर्दा नगरको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘किसानले बिरुवा रोपेर मात्र हुँदैन यसलाई समय–समयमा रेखदेख गरी हुर्काउने र कफीलाई संरक्षणमा ध्यान दिनुपर्दछ । किसानले उत्पादन गरेका कफी प्रशोधन एवम् भण्डारणका लागि नगरपालिकाले सहयोग गर्नेछ ।’

कफी खेती जिल्लाका १० वटै स्थानीय तहमा विस्तार भइरहेको छ । अरेबिका जातको कफी समुन्द्री सतहदेखि करिब आठ मिटर उचाइमा विषादी प्रयोगविना नै कफी उत्पादन हुने कृषि विज्ञले बताएका छन् ।

प्रतिक्रिया