बुधबार, वैशाख १२, २०८१

होटेलमा हेल्परदेखि मेकअप आर्टिष्टसम्मको यात्रा, यसरी मोडियो विक्रमको गन्तव्य

नरेन्द्र रौले २०८० जेठ १४ गते १५:०७

काठमाडौँ । जिन्दगीले कुन बेला नयाँ मोड लिन्छ पत्तै हुँदैन । कहिलेकाहीँ हिँडिरहेको बाटो मोडिन सक्छ । पेशा फेरिन सक्छ । काभ्रेका बिक्रम गौतमको जीवनमा पनि त्यस्तै भइदियो । कुनैबेला गेस्ट हाउसमा काम गर्थे, उनी ।

नयाँ बसपार्कस्थित दाजुभाइ गेस्ट हाउसको किचेनमा काम गर्दै गौतमले अध्ययन गर्थे । १२ वर्षअगाडिको त्यो प्रसंग अब त कथा भइसक्यो । किनकी कुक म्यानबाट अब उनको परिचय मेकअप आर्टिष्टका रूपमा स्थापित भइसक्यो ।

काभ्रेका गौतम नामी मेकअप आर्टिस्ट हुन् । उनले बिगत १२ वर्षदेखि सिने जगतमा कलाकारका लागि मेकअप आर्टिस्टको भूमिका निभाउँदै आइरहेका छन् । उनले पुरानो बुलेट, कप्स, विच्छेद, भूगोल, क्रश, मामा जस्ता दर्जन बढी चलचित्रका कलाकारको सुन्दरता निखारिसके ।

कुक म्यानदेखि मेकअप आर्टिष्टसम्म

नयाँ बसपार्कस्थित दाजुभाइ गेस्ट हाउसमा गौतमले दुई वर्ष काम गरे । त्यसै क्रममा उनको भेट ब्युटिसियन शुशीला केसी र सरस्वती घिमिरेसँग भयो । त्यो भेटले गौतमको जीवन नै मोडियो ।

गेस्ट हाउसमा काम गर्दागर्दै गौतमले ब्युटिसियनको कोर्ष गर्थे । त्योसँगै पछि मेकअप आर्टिस्टको काम पनि सिके । ‘शुशीला र सरस्वती दिदीले तिमीले यो काम सिक्यौ भने बसिबसी कमाउन सक्छौ । राम्रो कमाई गर्न सकिन्छ भन्नु भो,’ गौतमले भने, ‘उहाँहरु प्रशिक्षक हो । मेरो पहिलो गुरु पनि हो । दुवै जना ब्युटिसियनलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले बाटो नदेखाएको भए म यहाँ हुन्नथेँ ।’

काभ्रेस्थित पाँचखाल नगरपालिका ६ का गौतमले चलचित्रमा मात्र होइन नेपालका चर्चित टेलिसिरियल सक्किगोनी, भद्रगोल, मेरी बास्सै, बुहारी, हालत खराब, क्या जमाना आ जस्ता थुप्रै टेलिसिरियलमा समेत मेकअप आर्टिस्टका रुपमा काम गरिसकेका छन् ।

हालसम्म नायिका बेनिशा हमाल, केकी अधिकारी, वर्षा राउत, वर्षा शिवाकोटी, आँचल शर्मा, अञ्जली अधिकारी, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, सलोनमान बानियाँ, सलोन बस्नेतलगायत कलाकारलाई उनले सिंगार्ने काम गरिसकेका छन् ।

गौतमले ‘चाहन्छु’, ‘सपनिमा’, ‘ए काली’ लगायत थुप्रै भिडिओ तथा विज्ञापनमा समेत काम गरिसकेका छन् । उनले केही समयअघि छैटौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०७९ अन्तर्गत फिजाई पंख बोलको म्युजिक भिडियोमार्फत यस वर्षको सर्वोत्कृष्ट मेकअप आर्टिस्टको सम्मान प्राप्त गरिसकेका छन् ।

गौतमका अनुसार इफेक्ट मेकअप, आर्ट मेकअप, ड्रामा मेकअप गर्नेको संख्या नेपालमा कमै छ । त्यो थोरैमध्ये उनी पर्छन् । ‘बाहुनको छोरा भएर कपाल काट्न हुँदैन भन्थे,’ गौतमले सुनाए, ‘तँ बाहुनको छोरा, दाजुभाइ विदेश गएर पैसा कमाइरहेका छन् । तिमी किन यो पेशामा लागेको भन्थे ।’

कसैको कुरा नसुनेर उनले आफ्नै कर्ममा लम्किरहे । उनले ब्युटिसियन सम्बन्धी क्लास चलाउँदै आएका छन् । उनले हेयर कटिङ, हेयर केमिकल, स्पेशल मेकअप, हेयर केराटिनको पनि क्लास दिइरहेका छन् । हालसम्म उनले सिकाएका एक हजारभन्दा बढी विद्यार्थी उत्पादन भइसकेका छन् । उनीहरु प्रायः रोजगारीका सिलसिलामा विदेश गएका छन् । कतिपय नेपालमा सैलुन चलाएर आफ्नो व्यवसाय गरिरहेका छन् ।

गौतमले हाल कपनमा बि स्टार एकेडिमी एण्ड युनिसेक्स सैलुन सञ्चालन गरिरहेका छन् । उनले ७ जनालाई रोजगारी दिलाएका छन् । उनका अनुसार चलचित्र क्षेत्रमा एक सय जना जति मेकअप आर्टिस्ट छन् । तर, उत्कृष्ट र चलेका आर्टिस्ट एक दर्जन जति मात्र छन् । उनी त्यो थोरै संख्याभित्र पर्छन् । कामकै सिलसिलामा उनी हुम्ला, जुम्ला, कालिकोट, कैलाली, धनगढी र पूर्वमा धरान, इटहरी, झापा, इलाम लगायत अन्य जिल्ला पुगिसकेका छन् ।

लोभ लाग्दो कमाई

अरु पेशामा मन्दी लागे पनि मेकअप आर्टिस्ट पेशामा मन्दी लाग्दैन । यो क्षेत्रमा लाग्नेलाई रोजगारीको समस्या छैन । नगदमै कारोबार हुन्छ । जसले गर्दा जुनसुकै समयमा पनि आर्थिक रुपमा राम्रो आम्दानी गर्न सकिन्छ ।

‘अरु व्यवसायमा ७५ प्रतिशत लगानी हुन्छ । २५ नाफा हुन्छ । हाम्रोमा उल्टो छ । २५ प्रतिशत लगानी र ७५ प्रतिशत नाफा हुन्छ,’ गौतमले सुनाए । आफ्नो परिवारका आधा सदस्य यसै पेशामा रहेको उनले सुनाए । उनकी पत्नी मन्दिरा सापकोटा नेल टेक्निसियन, भाइ बिनय हेयर डे«सर, बुहारी रञ्जिता मेहेन्दी डिजाइनर र ब्युटिसियन हुन् ।

नेपालमा मेकअप आर्टिस्ट स्टाफ पाउन गार्‍हो छ । खान, बस्न दिएर ४०–५० हजार रुपैयाँ दिन्छु भन्दा पनि कामदार पाउन गार्‍हो भएको गौतमले सुनाए । लेडिज स्टाफ पाइए पनि केटा स्टाफ नपाइने समस्या छ ।

उनका अनुसार यदि कसैले काम सिके ४०–५० हजार रुपैयाँ कमाउन गार्‍हो छैन । काम मज्जाले पाइन्छ । नेपालीहरूले काम सिक्ने हो भने भारतीयहरुले यहाँबाट लैजाने ठूलो रकम स्वदेशमै बच्ने उनको तर्क छ ।

‘तपाईको भावी योजना के छ ?’ गौतमलाई सोधियो ।

‘नेपालीहरुलाई ब्युटिसियन पेशामा आबद्ध गराउने, मेकअप आर्टिस्टका क्षेत्रमा फरक पहिचान बनाउने रहर छ,’ गौतमले भने, ‘ब्राञ्चहरु अझ थप्ने तयारी छ ।’

तपाईको आइडियल पर्सन को हुनुहुन्छ ?

गौतमले भने, ‘म अरुभन्दा बेग्लै बन्न चाहन्छु । नेपालमा अरुको सिको त जसले पनि गरिहाल्छ नि ।’

प्रतिक्रिया