बुधबार, वैशाख १२, २०८१

सरकारद्वारा रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

मेरोन्यूज २०८० जेठ १४ गते ११:२६

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ ।

यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो ।

सोही फाइल गृहले मन्त्रिपरिषद्मा पठाएकामा आज फेरि राष्ट्रपति समक्ष नै सिफारिस भएको हो ।

मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

गणतन्त्र दिवसका अवसरमा उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनले बताइन् ।

चौधरीसँग अन्य केहीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया