बिहीबार, वैशाख १३, २०८१

कोशी प्रदेशसभा घेर्न खोज्ने २३ जना पक्राउ, विराटनगर तनावग्रस्त

मेरोन्यूज २०८० जेठ १४ गते १०:१४

विराटनगर । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्रिय २३ जनालाई प्रहरीले पक्राउ गरेपछि विराटनगर तनावग्रस्त बनेको छ ।

विराटनगरका विभिन्न स्थानबाट कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । उनका अनुसार प्रहरीले उप महासचिव दिपा लावतीलाई पनि पक्राउ गरेको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू प्रदेश सभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका र साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले बताए ।

कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र संघ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनिबार बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् ।

विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता पहिचान वादी संघ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रित भएका छन् ।

प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिको आयोजनामा गर्न लागिएको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा अवस्था कडा बनाइएको बास्तोलाले जानकारी दिए ।

स्थानन्ीय प्रशासनले शनिबारबाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीले सुरक्षा जाँच तीव्र बनाएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए ।

कोशी प्रदेशको बर्खे (बजेट) अधिवेशन आजबाट सुरू हुँदैछ। प्रदेश सभा बैठक दिउँसो २ बजेलाई बोलाइएको छ।

पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेश सभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो।

प्रतिक्रिया