शुक्रबार, चैत १६, २०८०

सांसदको अभिव्यक्ति हटाएर विगतका अनियमितता कति दिन ढाक्न सकिएला र : डा. कोइराला

मेरोन्यूज २०८० जेठ १४ गते ९:२४

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले सांसदले शंकास्पद अनियमितता सम्बन्धमा उठाएका अभिव्यक्ति हटाएर विगतका अनियमितता कति दिन ढाक्न सकिएला र भन्दै प्रश्न गरेका छन् ।

सांसदले संसदमा अनियमितता सम्बन्धमा उठाएको अभिव्यक्ति दलका शीर्ष नेता बसेर संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने कार्य उपयुक्त नभएको बताएका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा यस्ता कार्यले हाम्रो संसद्को गरिमालाई कहाँ लैजाँदै छौँ भन्दै प्रश्न पनि गरेका छन् ।

‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शिर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने,’ डा. कोइरालाले फेसबुकमा लेखेका छन्, ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ?’

कोइरालाले संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्ररूपमा उपभोग गर्न पनि नपाउने हो र भन्दै प्रश्न पनि गरेका छन् । ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं,’ कोइरालाले लेखेका छन्, ‘के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ?’

Advertisement

उनले संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं भन्ने सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया