शुक्रबार, चैत १६, २०८०

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्न व्यवसायीको माग

मेरोन्यूज २०८० जेठ १३ गते २०:३५

काठमाडौँ । उद्योगी व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् ।

उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही)ले आज भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी–व्यवसायीले यस्तो माग गरेका हुन् ।

उनीहरूले विगतमा पनि विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरिएको जनाउँदै थप दबाब आवश्यक रहेको जनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणअघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनीहरूको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा नागरिक निराश भएको बताए ।

अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै ४० प्रतिशत सटर खाली भइसकेको जानकारी गराए । चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले समग्र रुपन्देही र लुम्बिनीको विकास आवश्यक रहेको बताएका थिए । उनले लुम्बिनीमा सञ्चालित गुम्बा तथा मोनाष्ट्रीमा पर्यटक राख्दा त्यहाँ सञ्चालित होटल धरासायी भएको गुनासो सुनाए ।

Advertisement

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रूपमा सञ्चालनका लागि आन्दोलनका कार्यक्रम गरिएको उनले बताए । उनले लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रमा रहेका समस्या समाधानका लागि अग्रसर हुन मन्त्रीहरूसँग आग्रह गरे ।

सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको ठूलो हात रहने भएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि जनप्रतिनिधिको भूमिका रहने बताए ।

विमानस्थल नियमितरूपमा सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भए पनि मन्त्री र सचिवबाट आश्वासन मात्रै पाएको उहाँले गुनासो गरे ।

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गुप्ताले उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताएका थिए ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले विमानस्थल पूर्ण सञ्चालनका लागि सङ्घीय सरकारसँग निरन्तर पहल भइरहेको बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्र्याकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए ।

प्रतिक्रिया