बुधबार, वैशाख १२, २०८१

रेशम चौधरीको आम माफीको निवेदन राष्ट्रपति कार्यालयबाट फिर्ता

मेरोन्यूज २०८० जेठ १२ गते १६:२५

काठमाडौँ । रेशम चौधरीको आम माफीसम्बन्धी निवेदन गृहमन्त्रालयमा फिर्ता भएको छ । प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई माफी दिन दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार २० वर्ष कैद बस्नु पर्ने छ ।

साथै, टीकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमै पठाएको छ । उनले रेशमलाई थुनामुक्त गर्न नहुने माग राखेकी थिइन् ।

प्रतिक्रिया