शुक्रबार, वैशाख ७, २०८१

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया सुरु

मेरोन्यूज २०८० जेठ ११ गते ७:५१

बागलुङ । बागलुङको धललागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो ।

धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए ।

‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ,’ उनले भने । अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा प्रधानले बताए ।

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौँलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ ।

पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ । (रासस)

प्रतिक्रिया