बिहीबार, वैशाख ६, २०८१

नीति कार्यक्रमको छलफलमाथी नै गगन थापाको प्रश्न- ‘सरकारको विज्ञापन गर्ने अस्त्र बनायौं’

मेरोन्यूज २०८० जेठ १० गते १२:४२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रमबारे संसद्मा हुने छलफलको औचित्यमाथि नै प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्री थापाले नीति कार्यक्रम प्रधानमन्त्रीसँग भएको भिजन र त्यसको आधारमा नीति कार्यक्रम नबनेको बताए ।

नीति कार्यक्रममा योजना भन्दा पनि सरकारको विज्ञापन गर्ने अस्त्रका रुपमा मात्र यसलाई लिन थालेको बताए ।

सांसद थापाले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा १८८ बुँदा छ, यसमा सरकारको इच्छा, छ, समीक्षा छ, योजना छ, कार्यक्रम पनि छ । सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन । पहिले नीति तथा कार्यक्रममा छोटो हुन्थ्यो, अहिले लामो आउँछ । समयक्रममा यसलाई हामीले सरकारको विज्ञापन गर्ने अस्त्र बनाएका छौँ ।’

महामन्त्री थापाले नीति कार्यक्रम नै औचित्यहिन बनिरहेको बताए ।


“मन्त्रालयले फागुन, चैततिर योजना शाखाबाट आफू मातहतका निकायहरूलाई एउटा सन्देश पठाउँछ, नीति तथा कार्यक्रममा राख्ने कुरा पठाउनुहोस् भनेर भन्छ । त्यसको कम्पाइल हुन्छ र मन्त्रिपरिषद्मा पठाइन्छ । प्रधानमन्त्री कार्यालयमा केही सचिवहरू हुनुहुन्छ जो ठिक ठाउँमा मेरो सरुवा भएन भनेर बस्नुभएको हुन्छ । झोक्राएर बसेको त्यो सचिवहरूको सानो एउटा समूह बनाइन्छ, अनि त्यो समूहलाई कम्पाइल गर्न दिइन्छ र त्यो कम्पाइल गरेको कुरालाई नीति कार्यक्रम भनिन्छ ।” महामन्त्री थापाले भने ।

नीति तथा कार्यक्रममा छलफल पनि यसैको आधारमा बजेट बन्ने जसरी बहस भइरहेको भन्दै उनले त्यो फरक भएको बताए ।

“बजेट त लक भइसक्यो त्यो छाप्न मात्र बाँकी हो नि,” उनले भने, “यसभित्र भएको छलफल र बहसलाई कसले ग्रहण गर्ने हो रु यस विषयमा हामीले कहिले प्रश्न गरेनौँ ।”

उनले विगतदेखिकै शृङ्खला बदल्न आफू र अर्का सांसद विश्वप्रकाश शर्माले अर्थमन्त्रीलाई भेटेर तालिका र व्याख्यासहित बुझाएको पनि बताए ।

“चैत महिनामा नीति कार्यक्रम यहाँ पेस हुनुपर्छ । वैशाख र जेठमा बजेट कार्यान्वयनका लागि जति पनि कानुन निर्माण गर्नुपर्ने हो, त्यसमा प्रयोग गर्नुपर्छ,” उनले भने ।

उनले अगाडि थपे, “प्रधानमन्त्रीलाई भाषण गर्दा सबै कुरा थाहा भएको जस्तो लाग्छ । तर, थाहा हुँदैन एक प्रकारको बयानबाजी मात्र हुन्छ, के गर्ने कसो गर्ने भन्ने थाहा हुँदैन । मन्त्रीलाई पनि थाहा हुँदैन । सचिवले मन्त्रीलाई ब्रि फिङ दिन्छ र सोही अनुसार मन्त्रीले निर्देशन दिन थाल्छ,” उनले भने, “त्यो निर्देशन र घोषणापत्र पत्रपत्रिकामा छापिन्छ अनि तयो छापिएको कुराहरू पढेर आएर हामी त्यसको वरिपरि प्रतिक्रियाहरू व्यक्त छौँ । प्रश्न राखछौं र हामी यसैमा रुमलिएका छौँ ।”

प्रतिक्रिया