शुक्रबार, वैशाख ७, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण

आईजीपी कुँवर र एआईजीपी ज्ञवालीबीच कसले जस लिने भन्‍ने विवाद

मेरोन्यूज २०८० जेठ १० गते ८:४५

काठमाडौँ । मुलुकमा व्यापक हलचल ल्याइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल प्रहरीमा पनि विवाद ल्याइदिएको छ । मुख्यगरी एकै ब्याचमा र अहिले एक जना प्रहरी महानिरीक्षक र अर्को अतिरिक्त प्रहरी महानिरीक्षक रहेका प्रहरी अधिकृतमा को पहिलो र कामयापी बन्ने विवाद यो प्रकरणले ल्याइदिएको हो ।

यस प्रकरणले प्रहरी महानिरीक्षक बसन्त कुँवर र प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीबीच विवाद ल्याइदिएको हो ।

२०७९ असार ८ गते प्रहरी नायब महानिरीक्षक बढुवाबाट सुरु भएका कुँवर र ज्ञवालीबीच शक्तिकेन्द्रको को नजिक बन्ने र को महानिरीक्षक बन्ने भन्ने विवाद अहिले आइपुग्दा उत्कर्षमा पुगेको हो । त्यो बेला पछाडिबाट कुँबर एक नम्बरमा बढुवा हुँदै फड्को मारेका थिए । ज्ञवाली भने ५ नम्बरमा डिआइजी भएका थिए ।
कुँवरले आफ्नो पहिलो नम्बरको वरियता अतिरिक्त महानिरीक्षक हुँदा कायम राखे । र महानिरीक्षक बन्न बाजी मारे ।

ज्ञवाली भने अतिरिक्त महानिरीक्षक हुँदा एक वरियता सुधार गर्दै चौँथोमा पुगे तर महानिरीक्षक दौडमा पहिलो नभइ दोस्रो मात्र बन्न सके । स्रोतका अनुसार मुख्यगरी ज्ञवालीले वर्तमान प्रधानमन्त्रीका छोरी ज्वाइ (गंगा दाहालका श्रीमान) जीवन आचार्य र माओवादीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरामार्फत दबाब दिएका थिए । गंगा अहिले प्रधानमन्त्री दाहालकी स्वकीय सचिव पनि हुन् । र आचार्य कोसी प्रदेशका मन्त्री हुन् ।

महरा, दाहाल र आचार्यको दबाबमा प्रधानमन्त्री ज्ञवालीलाई महानिरीक्षक बनाउन सकारात्मक थिए । तर, मन्त्रिपरिषद्ले निर्णय लिने दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा टेलिफोनले ज्ञवालीको महानिरीक्षक बन्ने दौडलाई पहिलो बन्न रोकेको थियो । नयाँ महानिरीक्षक नियुक्त गर्न १० चैतको अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । प्रधानमन्त्री ज्ञवालीप्रति सकारात्मक देखिएको सूचनापछि देउवाले बिहान साढे १० बजेतिर टेलिफोन गरी ‘तपाईंलाई आईजीपी महत्वपूर्ण हो कि म’ भन्ने प्रश्न गर्दै ‘म महत्वपूर्ण भएको भए वरियता नमिच्नुस्’ भनेपछि मन भारी बनाएर कुँवरलाई महानिरीक्षक बनाउने निर्णय मन्त्रिपरिषद्बाट गरेका थिए ।

तर, जब उपप्रधानमन्त्री तथा गृहमन्त्री भएर नारायणकाजी श्रेष्ठ भएर आए त्यसपछि उनको ट्युनिङ कुँवरसँग भन्दा अतिरिक्त महानिरीक्षक ज्ञवालीसँग मिल्दै गएको छ । निकटस्थ स्रोतले राम्रो काम गरेमा बीचमै कुँवरलाई हटाएर ज्ञवालीलाई महानिरीक्षकमा बढुवा गर्न सक्ने आश्वासन पनि गृहमन्त्री श्रेष्ठले दिएका छन् । यसबारे आफूले प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गर्ने पनि श्रेष्ठले आश्वासन दिएका छन् ।

यति आश्वासन पाएपछि ज्ञवालीले आफ्नो काम देखाउने र महानिरीक्षक कुँवरले नेतृत्व गर्न नसक्ने तरिकाले अगाडि बढीरहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि महानिरीक्षक कुँवरभन्दा ज्ञवाली नै हावी भएको देखिन्छ । यतिसम्मकी पुर्वगृहमन्त्रीलाई नियन्त्रणमा लिने योजना प्रधानमन्त्री पुष्पकमल दाहाल र महानिरीक्षक कुँवरलाई थाहै नदिइ गृहमन्त्री श्रेष्ठ र अहिले उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेका ज्ञवालीले योजना बनाएर गरेका थिए । र ज्ञवालीले परम्पराविपरीत अपराध अनुसन्धान महाशाखाका प्रमुख डा. मनोज केसीलाई नियन्त्रण गर्न आफै जान निर्देशन दिएका थिए । योजना अनुरुप पूर्वगृहमन्त्री खाणलाई पक्राउ गरेपछि मात्रै यो सूचना आइजीपी कुँवर र प्रधानमन्त्री दाहाललाई दिइएको थियो ।

२७ बैशाखमा खाणलाई आफूलाई जानकारी नदिइ पक्राउ गरिएपछि कुँवरले ज्ञवाली र केसीलाई बोलाएर मलाई जानकारी नदिई कसको आदेशमा नियन्त्रणमा लिएको भनेर सोधेका थिए । त्यसबेला ज्ञवालीले माथिको निर्देशन भनेपछि सम्माननीय प्रधानमन्त्रीले मलाई जानकारी भएन भनेको बताएका थिए । ज्ञवालीले त्यसको जवाफ नदिएको कुँवर निकट स्रोत बताउँछ ।

त्यसदिनदेखि ज्ञवालीले कुँवरको निर्देशनभन्दा पनि गृहमन्त्री श्रेष्ठसँग समन्वय गरेर मात्रै काम गरिरहेका छन् ।

यो मुद्दामा सफल हुन सकेमा बढुवा हुन सक्ने आश्वासन पाएका ज्ञवालीले कसरी हुन्छ कुँवरलाई असफल बनाउन पर्छ भन्दै लागेको प्रहरी अधिकारीहरूने बताउँछन् ।

ज्ञवालीले अहिले कुँवर अपराध अनुसन्धान महाशाखाको प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके भनिएका केशव दुलाल र टंक गुरूङलाई नियन्त्रणमा लिएर छोडेको घटनालाई बाहिर ल्याइरहेका छन् ।

मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनमा सरूवा भएका थिए । त्यहाँ उनी २०७९ असार १७ गतेसम्म कार्यरत रहेका थिए ।

उनी त्यही भएको बेलामा पीडितहरूको उजुरीका आधारमा २०७९ जेठ २८ गते मात्र काठमाडौं जिल्ला अदालतबाट दुलाल र गुरूङविरूद्ध कार्यालयले पक्राउ पुर्जी लिएर त्यसको केही दिनपछि पक्राउ गरिएको थियो । तर रेकर्डमै नराखी छोडिएको घटना अहिले बाहिर ल्याइएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा कुँवरको भूमिका पनि शंकास्पद देखिएको विषय बाहिर आएको हो ।

प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण बाहिर ल्याइएको छ ।

प्रकरणका अभियुक्त केशव दुलालले १० असार २०७९ मा पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर नमस्ते, डीआईजी वसन्त कुँवरसँग कुरा भयो हजुर ?’ त्यसपछि पाण्डेले ‘१२ बजेपछि जानु न’ भन्ने जवाफ फर्काएका छन् ।

उनीहरू पक्राउ परेको खबर गृह मन्त्रालयसम्मै पुग्यो। पक्राउ परेको केही घन्टामै उनीहरू छुटे। उनीहरू पक्राउ परेको रेकर्डसम्म कार्यालयमा राखिएन।

आइजीपी कुँवरले भने आफू निकटस्थहरूसँग आफूविरुद्ध प्रतिसोध साँध्न खोजिएको बताउँदै आफू अपराध अनुसन्धान महाशाखामा रहँदा आफूले समातेका व्यक्ति कोही नछुटेको बरु २५, २६ दिनको दौरानमा जाहेरी दर्ता भएको बताउने गरेका छन् ।

आफूलाई कसरी लाञ्छना लगाउन सकिन्छ भन्ने हिसाबले प्रायोजित विषयहरु बाहिर ल्याइएको कुँवरको तर्क हुने गरेको छ ।

अहिले आफू नेतृत्वमा रहेको बेलामा मुद्दा चलाए पनि क्रेडिट अरुले लिन खोजिरहेको यसले संगठनभित्र विद्रोह हुन लागेको संकेत दिने भन्दै आफू निकटस्थहरूलाई सतर्क रहन भनेका छन् ।

यता ज्ञवाली भने जसरी पनि यो प्रकरण सफल बनाउनु पर्ने त्यसपछि आफ्नो बढुवा भएमा न्नया गर्ने भन्दै मातहतका अधिकृतहरूलाई फकाउने गरेका छन् ।

प्रतिक्रिया