मंगलबार, जेठ १, २०८१

केपी ओलीले भने : म सरकारमा हुँदा भुटानी शरणार्थीको फाइल हेर्न भ्याइनँ

केपी ओलीले अर्थाेक गर्ला, तर शरणार्थीमा मुछिएकाहरूलाई बचाउन भन्दैन

मेरोन्यूज २०८० जेठ ७ गते १९:२४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै भुटानी शरणार्थी प्रकरणमा दोषीलाई छाड्न नहुने बताएका छन् ।

Advertisement

आइतबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले दोषीलाई कारबाही हुनु पर्ने तर निर्दोष फस्न नहुनेप्रति सचेत गराएका थिए । उस्तै, उनले आफ्नो पालामा यस प्रकरणबारे कुनै काम नभएको दाबी गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गर्न बसेको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नै पहलमा अमेरिकाले शरणार्थी लैजाने सहमति गरेको दाबी गरेका थिए ।

शेरबहादुरले छलफल गरे सफल भएनन्

यसअघि अध्यक्ष अ‍ोलीले गत ४ गते संसदमा बोल्ने घोषणा गरेका थिए । उनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहा भएका सूचनाहरूबारे बोल्ने बताउँदै आएका थिए ।

‘यसअघि ४ गते संसदमा बोल्ने भनेको थिएँ, म आफै विरामी भएँ, विमारीका कारण संसदमा आउने स्थिति रहेन, आजको त्यस सम्बन्धमा अलिक समय लाग्छ, बोल्नका लागि, त्यस कारण आज म त्यसबारे डिटेलमा जान चाहान्नँ,’ उनले भने ।

ओलीले आफू भुटानी शरणर्थी समस्या भएको जिल्लाको बासिन्दा भएको बताउँदै यसबारे आफूले बढी जानकारी भएको बताए । यस्तै, उनले आफ्नो प्रयासमा नै भुटानी शरणार्थीको समस्य समाधान हुन पुगेको बताए ।

अ‍ोलीले भुटानी शरणार्थीबारे नेपाल सरकारले पटक–पटक भुटानी सरकारसँग छलफल भएको बताए । उनले दुई देशबीच भुटानी शरणार्थी समाधान गर्न छलफल भए पनि पूरा हुन नसकेको बताए ।

‘१९८९–९० मा भुटानले नेपाली मूलका नेपाली भाषीहरुलाई भुटानबाट खेदेपछि उनीहरू नेपाल आएर खोला किनारा बसे, जहाँ कसैको दाबी छैन, त्यहाँ आएर अलपत्र यत्रतात्र ठूलो संख्यामा बसे,’ उनले भने, ‘स्थानीय जनताले त्यहाँ बस्नका लागि सहयोग गरे, त्यसपछि विभिन्न संघ संस्था, अन्तर्राष्ट्रिय संस्थाहरू नेपाल सरकार सबैको ध्यानाकर्षण हामीले गराउन सक्यौँ ।’

अध्यक्ष ओलीले तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले चारपटक भुटान सरकारसँग कुरा गरे पनि सफल हुन नसकेको बताए । उनले आफू गृहमन्त्री बनेपछि मात्रै केही मात्रामा भुटानी शरणार्थीको समाधान हुन सकेको बताए ।

‘त्यसबेला मेरा मित्र शेरबहादुर देउवा गृहमन्त्री हुनुहुन्थ्यो, उहाँले विभिन्नपटक छलफल गर्नु भयो, त्यो उपयुक्त भएन,’ उनले भने, ‘०५१ सालको निर्वाचनको चुनावपछि म गृहमन्त्री भएर आएँ । पाचौँ र छैटौं चरणको वार्ता काठमाडौँ र थिम्पुमा मैले गरेँ, थिम्पुमा छैटौं राउण्डको वार्ता गर्दा मैले स्पष्ट बुझेँ, भुटान शरणार्थी सुन्नै चाहँदैन्, मान्दै मान्दिन् ।’

उनले भुटानी शरणार्थी समस्या पहिलोपटक संयुक्त राष्ट्रसंघको फोरममा उठाएको बताए । भुटानी शरणार्थी समस्या समाधान गर्न आफूले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग छलफल गरेको बताए ।

भुटानी शरणार्थीबारे जर्ज डब्लुसँग कुरा

अध्यक्ष ‌‌ओलीले नेपालमा भएकाे शरणार्थी समाधान गर्न तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लुबुससँग कुरा गरेकाे बताएका छन् । यसै क्रममा उनले अरू अमेरिकी नेतासँग पनि कुरा गरेको दाबी गरे ।

‘तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लुबुसले संयुक्त राष्ट्रसंघको फोरमलाई रिसेप्सन दिनु भयो, त्यसमा भेट भयो, भुटानी शरणार्थी समस्याको बारेमा मैले उहाँसँग कुरा गरेँ, तपाईंले हामीलाई सहयोग पुर्याउनु पर्यो, एक लाखभन्दा बढी शरणार्थीहरू विभिन्न क्याम्पमा राखिएको छ,’ उनले भने, ‘हामी आफै गरिब छौँ, त्यस कारण तपाईंहरू डिभी राखेर पनि लिँदै हुनुहुन्छ भने तपाईंहरूले हाम्रो देशमा भइरहेको भुटानी शरणार्थी लिइदिनुस् भनेर मैले आग्रह गरेँ ।’
संसदमा सम्बोधन गर्दै ओलीले भुटानी शरणार्थी समस्या समाधान गर्न तत्कालिन अमेरिकी परराष्ट्रमन्त्री कोण्डालिजा राइससँग पनि भेट गरी छलफल गरेको बताए । यसपछि आफ्नै पहलमा भुटानी शरणार्थी समस्या समाधान गर्ने काम भएको दाबी गरे ।

अमेरिकासँग पहिलो लटमा ६० हजार शरणार्थीको पुर्नबास गर्ने काम भएको उनले बताए । ‘केही केही सञ्चार माध्यमहरूले केपी ओलीले सुरु गरेको रहेछ भुटानी शरणार्थी प्रकरण, त्यस कारण केपी ओलीलाई किन नसमाउने भनिरहेका छन्,’ उनले भने, ‘भुटानी शरणार्थी समस्याको समाधान गर्न पहल गरेकोमा धन्यवाद भन्नु त कता छ कता बुद्धिको भाडो ।’

‘सन् २०१२ मा फेरि सकेण्ड ज्वाइन भेरिफिकेसन भनेर भुटानी शरणार्थीको काम अगाडि बढ्यो, मैले सुनेको छु, त्यसबेला केही मानिसहरु छिरे भन्ने अहिले सुनिदैछ, त्यसको सरकारले छानबिन गर्नु पर्यो,’ उनले भने, ‘खोजी नीति गर्नु पर्यो, सरकार बडो भष्टाचार विरोधी च्याम्पियन जस्तो आफूलाई उधुम हल्ला गरिरहेको छ ।’

भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपी पक्राउ गरेकोप्रति संकेत गर्दै अ‍ोलीले सरकारले जुँगामा ताउ लगाउनु पर्ने कुनै आवश्यकता नभएको बताए । ‘यसअघि उजुरी परेपछि मान्छे गिरफ्तारीमा परेका रहेछन्, गिरफतार गरेका मान्छेलाई सुटुक्क किन छोडियो ? लेनदेन, कारोबार मिलाउने कोसिस भएछ,’ उनले थपे ।

भुटानी शरणार्थीको फाइल हेर्न भ्याइनँ

उनले भुटानी शरणार्थीसँगै नेपाललीलाई ठगेर अमेरिका पठाउने घटना दबाउन नसक्ने भएकाले आफै विस्फोट भएर आएको दाबी गरे । ‘भुँइचालो गए जस्तो भएर आयो, भुँइचालो मैले ल्याए भन्नु बेकार छ, आफै आयो, यो भुँइचालो आयो छेक्न सकिदैन्थ्यो, रोक्न सकिदैन्थ्यो, ९७५ जना मान्छेहरूको अब ९९ जना मात्र मान्छे शरणार्थीका नाममा खाली रहेछ,’ उनले भने ।

ओलीले आफू भुटानी शरणार्थी घटनामा नमुछिएको भन्दै लामो वक्तव्य राखेका छन् । उनले आफ्नो नेतृत्वको सरकारमा एउटा आयोग बनेको स्पष्ट पारे । उक्त आयोगमा भुटानी शरणार्थीसम्बन्धी एउटा फाइल आए पनि आफूले हेर्न नभ्याएको ओलीले दाबी गरेका छन् ।

‘जम्मा शरणार्थीमध्ये एक लाख ७३ हजार ७०३ जना विदेश थर्ड कन्टी सेटलमेन्टका लागि उडेका छन्, ६ हजार ४५५ बाँकी छन्, त्यसमध्ये ४२९ को कार्ड बनिसकेको थियो, यो पछिल्लोपटक आयोग बनेको समिति बनेको के बनेको छ, मेरा समयमा केही गएको छैन, छानबिन गर्नुस्, मेरो समयमा केही भएको छैन,’ उनले भने ।

‘मुद्दै मुद्दा, नारा जुलुस, भित्तामा टासिदिन्छु भनेको छ, भुँईमा पुर्याइदिन्छु भनेको छ, धुलोमा मिलाइदिन्छु भनेको छ, साञ्चै मिलाइदिन्छन् की क्या हो ? त्यस्तो स्थितिमा हामीले केही गरेनौँ, फाइल हेर्न भ्याइनँ, त्यसपछि सरकारले त्यसलाई फिर्ता पठायो, अर्काे सरकार भए पनि त्यक्तिबेला सरकारले फिर्ता पठाएको मैले सुनेको छु, त्यो ओरजिनल खास भुटानी शरणार्थी नै थिए, यो ४२९ जना, तर त्यसपछि कागज फेरियो, माथीको कभर उही राखियो, तल व्यक्तिहरूको सूची परिवर्तन गरियो, परिवर्तन गर्ने को हो ? खोज्नु पदैन ?,’ उनले थपे ।

मैले अरू गरूँला, शरणार्थीका दोषी बचाउँदिनँ

यस क्रममा उनले आफूविरुद्ध गाली गर्ने रहर भएका मान्छेहरू धेरै भएको बताए । उनले एमाले र केपी ओलीविरुद्ध गाली गर्ने रहर भए पनि पार नलाग्ने बताए ।

‘रहर लागेको छ, एमालेको नाम लिन, एमालेलाई गाली गर्न, केपी ओलीलाई गाली गर्न रहर लागेको छ, रहर लाग्ने मात्र पनि होइन रहेछ जीन्दगी, पार लाग्दैन,’ उनले भने ।

उनले आफू सधै भ्रष्टाचारविरुद्ध भएको दाबी गरे । आफू गृहमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री हुँदा भ्रष्टाचार गर्न नदिएको बताए । ‘म चुनौतीका साथ भन्न चाहान्छु, छानबिन होस्, छानबिन गरियोस्, हामी सधै भ्रष्टाचारविरुद्धमा छौँ, भ्रष्टाचारको छानबिन होस् भन्ने स्पष्टमा छौँ, कोही पनि दोषी छुटन् हुन्न, तर अहिले निर्दाेष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहान्छु,’ उनले भने ।

उनले शरणार्थी प्रकरणपछि आफू प्रधानमन्त्रीसँग मेरो मान्छे बचाइदेउ भन्न नगएको दाबी गरे । उनले राजनीतिक विषयमा छलफल गर्नका लागि भेट गरेको बताए ।

‘मानिलिऊँ तीन जना नेता भेट्दा दुई नेता दुधमा नुहाएका मात्र होइन, दुध कुण्डमै नुहाएका, अनि म चाहिँ त्यहाँ गएर मेरो मान्छे बचाइदेउ भनेर म्याउ म्याउ गर्न गएको ?,’ उनले भने, ‘केपी ओलीले अर्थाेक गर्ला, तर शरणार्थीमा मुछिएकाहरूलाई बचाउन भन्दैन, बाघ भोकै मर्छ घास खाँदैन् भन्छ नि, म म्याउ म्याउ गर्दिनँ ।’

उनले आफूसँग प्रमाण भएको बताउँदै दोषीको कारबाहीलाई निष्पक्ष र तटस्थ ढंगले गर्नु पर्ने बताए । उनले दोषीलाई उम्काउने कोशिस भइरहेको बताउँदै निर्दाेषलाई फसाउने काम हुन सक्नेप्रति सचेत गराएका थिए ।

‘दोषीमाथि कारबाही ढृढतापूवर्क गरियोस् सरकार र मन्त्रिपरिषदले यसमा हस्तक्षेप गर्ने आवश्यकता छैन्,’ उनले भने, ‘प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न दिनुस् त ।’

राजनीतिक अभिष्ट साध्नका लागि निर्दाेषलाई फसाउने काम पनि अपराध भएको बताउँदै उनले सरकारको ध्यानाकषर्ण गराए । उनले अरु भ्रष्टाचारका बारेमा छानविन गर्न एमाले सधै साथ दिने पक्षमा रहेको बताए ।

उनले गल्ती गर्नेतिर सरकार जान नहुने भन्दै गल्ती नगरिकन भ्रष्टाचार नियन्त्रण गर्ने र कारबाही गर्नेतिर जानु पर्ने बताए ।

प्रतिक्रिया